![]()
पिपुल्स न्युज काठमाडौं । शान्तिनगरस्थित कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड बचतकर्ताको रकम फिर्ता गर्न नसकेर समस्यामा परेको छ ।
२५ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीले बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेको हो । बचतकर्ताले एकै पटक बचत रकम फिर्ता गर्न माग गरेपछि समस्या आएको बताइएको छ ।
सहकारीले बचतकर्ताको अवधि पूरा भएको फिक्स डिपोजिट पनि फिर्ता नगरेको बचतकर्ताको आरोप छ । गत हप्ता नै अवधि पूरा भएपछि रकम झिक्न रमा कुमारी दाहाल आएकी थिइन् । उनले फिक्स डिपोजिटमा २० लाख राखेकी छन् । तर, पैसा नभएको भन्दै उनलाई नवीकरण गर्न लगाइयो ।
“फिक्स डिपोजिटमा २० लाख राखेकी थिएँ । तर, पैसा दिइएन । मैले आधा पैसो अर्को हप्ता झिक्ने र आधा नवीकरण गर्ने सहमति गरेँ । अर्को हप्ता (आज) आउँदा मेरो सबै पैसा दिन नसक्ने रे,” उनले भनिन्, “आज त १५ हजार मात्र दिने रे । हामीले दुःख गरेर जम्मा गरेको पैसा जतिखेर पनि झिक्न मिल्नुपर्ने हो ।”
त्यस्तै, अर्का बचतकर्ता पनि आफूले राखेको पैसा झिक्न मिल्नुपर्ने माग गर्छन् । उनले पनि ३० लाख रूपैयाँ बचत गरेका छन् ।
कान्तिपुर सहकारीले गएको वर्ष नै २५ वर्ष पुगेको उपलक्ष्यमा २५ वटा शाखा कार्यालय विस्तार गर्ने लक्ष्य राखेको थियो । हाल यो सहकारीले काठमाडौं, भक्तपुर, बनेपा, ललितपुर र हेटौँडाबाट १३ वटा सेवा केन्द्र र केन्द्रीय कार्यालयसहित पाँच वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।
हालसम्म यो सहकारीमा करिब २० हजार सदस्य रहेका बताइएको छ । सहकारीले तिनकुनेमा कान्तिपुर हस्पिटल सञ्चालन गरिरहेको छ । 12खरी बाट