मृत्युको नाटक गरेर बेपत्ता भएका एक व्यक्ति एक बर्ष पछि पक्राउ

Loading

 

People’s News : आफ्नो मृत्यु भएको मिथ्या सूचना फैलाएको ठानिएका एक फरार अमेरिकी नागरिक ग्लास्गोस्थित एउटा अस्पतालमा पक्राउ परेपछि उनलाई स्वदेश सुपुर्दगी गर्नेबारे चर्चा भइरहेको छ । चौतीस वर्षीय निकोलस रोसीलाई अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले खोजिरहेको थियो। उनीविरुद्ध संयुक्त राज्य अमेरिकाको यूटामा बलात्कारको मुद्दा छ । कोभिड-१९ को सङ्क्रमण भएपछि उनी गत डिसेम्बरमा क्वीन एलिजाबेथ यूनिभर्सिटी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । त्यहाँ उनले छद्म नाम ‘आर्थर नाइट’ प्रयोग गरेका थिए । स्कटल्यान्ड प्रहरीले निकोलसलाई अन्तर्राष्ट्रिय पक्राउपुर्जीका आधारमा पक्राउ गरेको जनाएको छ । अमेरिकी अधिकारीहरूले रोसीलाई रोड आइल्यान्ड राज्यमा निकोलस एलाभर्डियन भन्ने नामले चिनिने पुष्टि गरेका छन् । त्यहाँ उनी स्थानीय राजनीतिमा संलग्न थिए र राज्यको बाल कल्याण प्रणालीको समीक्षा गर्थे । सन् २०१९ को डिसेम्बरमा उनले अमेरिकी सञ्चारमाध्यमसँग आफूलाई अन्तिम चरणको क्यान्सर भएको र केही सातामै आफ्नो मृत्यु हुने थिए । सन् २०२० को फेब्रुअरी महिनामा थुप्रै सञ्चारमाध्यममार्फत् उनको मृत्युको खबर सार्वजनिक भयो । अनलाइन प्रकाशित एउटा सन्देशमा उनलाई दुई दशकसम्म अग्रपङ्क्तिमा रहेर बालबालिकाको अधिकारका लागि लड्ने योद्धा को सङ्ज्ञा दिइएको थियो । साथै उनको खरानी समुद्रमा विसर्जन गरिएको बताइएको थियो ।

तिनै रोसी ग्लास्गोस्थित अस्पतालको सघन उपचार विभागको भेन्टिलेटरमा भेटिएको बताइएको छ। स्वास्थ्यकर्मीहरूलाई उनी इन्टरपोलको रातो सूचीमा रहेको जानकारी थिएन । उनी गत डिसेम्बर १३ मा अस्पतालबाट पक्राउ परे । अमेरिका सुपर्दगी गर्ने प्रक्रियामा उनलाई अस्पतालबाट भिडिओ लिङ्कमार्फत् न्यायिक निकायमक्ष पेस गरिएको स्कटल्यान्डको आपराधिक घटनाको अभियोग प्रक्रिया अघि बढाउने ‘क्राउन अफिस’ले जनाएको छ । यूटाका क्षेत्रीय अधिवक्ताले उनी राज्यमा निकोलस रोसीको रूपमा चिनिने जानकारी दिए। अदालतको दस्तावेजअनुसार उनलाई त्यहाँका स्थानीय अधिकारीहरूले बलात्कारको एउटा घटनामा सन्दिग्धका रूपमा खोजिरहेका थिए । उनी अमेरिकाका विभिन्न राज्यका अधिकारीहरूबाट भागेको उल्लेख गरिएको छ । अन्य निकायहरूको अनुसन्धानमा उनलाई निकोलस एलाभर्डियन, निकोलस एलाभर्डियन रोसी, निकोलस एड्वर्ड रोसी, निकोलस एलाभर्डियन-रोसी, निक एलन, निकोलस ब्राउन, आर्थर ब्राउन र आर्थर नाइटको रूपमा पहिचान गरिएको छ । उनलाई छोरा मानेर पालनपोषण गरेका व्यक्तिको नाममा रोसीले क्रेडिट कार्डहरू निकालेर तथा दुई लाख डलरभन्दा बढीको ऋण लिएर ठगी गरेको आरोपमा उनीविरुद्ध अमेरकी सङ्घीय जाँच ब्यूरो (एफबीआई)ले पक्राउपुर्जी जारी गरेको थियो ।

प्रोभिडेन्स जर्नल पत्रिकाले शुक्रवार प्रकाशित सामग्रीमा जनाएअनुसार सन् २०१९ को डिसेम्बर रोसीले सञ्चारमाध्यमलाई आफूलाई नन-हड्ज्किन लिम्फोमा भएको बताउनुभन्दा केही साताअघि यूटाका एक अनुसन्धानकर्ताले उनी रहेको स्थानको सूचनासहित एफबीआई दिएका थिए । डीएनए प्रमाण किटहरूको जाँच नगरिएका यौन दुर्व्यवहारका पुराना घटनाहरू समीक्षा गर्ने एउटा पहलपछि यूटामा उनीविरुद्ध अभियोगहरू लगाइको थियो । निकोलस रोसी सन् २००८ मा भएको एउटा घटनाका सन्दिग्ध थिए। मुख्य अनुसन्धानकर्ताले परीक्षणका लागि यूटाका क्षेत्रीय अधिवक्ताको कार्यालयमा सम्पर्क नगरी त्यससँग सम्बन्धित अनुसन्धान बन्द गरिदिएका थिए । सन् २०१८ मा भएको डीएनए परीक्षणको नतिजाले उनीलाई ओहायोमा भएको अर्को यौन दुर्व्यवहारको घटनामा संलग्न भएको देखायो। अनुसन्धानकर्ताहरूले रोसीले अमेरिका छोडेको आशङ्का गरेका थिए र अन्य राज्यका अधिकारीहरूले उनको मृत्यु भइसकेको ठानेका थिए । यूटा काउन्टीका सरकारी वकिलको कार्यालयले हाल सङ्घीय र अन्तर्राष्ट्रिय निकायहरूसँग रोसीलाई यूटा फिर्ता ल्याउने कार्यका लागि समन्वय गरिरहेको छ । यूटा काउन्टीका सरकारी वकिल डेभिड लिभिटले भने, ”कानुन कार्यान्वयन गराउन र अभियुक्तलाई कानुनको दायरामा ल्याउन विभिन्न निकायहरूसँग भएको यस महत्त्वपूर्ण समन्वयका लागि हाम्रो कार्यालय आभारी छ । वर्षौँसम्म नहेरिएका प्रमाण जाँच र अभियुक्त पहिचान हुनुमा न्याय मन्त्रालय र न्यायिक सहायता ब्यूरोमार्फत् भएको पहलले महत्त्वपूर्ण भूमिका खेलेको छ। हामी त्यस पहलमार्फत् सङ्कलित कोषलाई यसको श्रेय दिन्छौँ । रोसीले गरेका अपराधबाट पीडित व्यक्तिलाई अगाडि आउन लेभिटले आग्रह गरेका छन्।

 

Leave a Comment