![]()
People’s News : नेपालमा थप ५,०८७ जनामा कोभिड भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा २०,५६० वटा नमुना परीक्षण गरिएकामा करिब २५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पीसीआर विधिबाट झन्डै साढे १३ हजार जनाको परीक्षण गर्दा ३१ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको थियो । विगत एक सातामा बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण लगभग पाँच गुनाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाउँछ। सबैभन्दा बढी सङ्क्रमण भने २१ देखि ३० र ३१ देखि ४० वर्षको उमेर समूहका मानिसमा देखिएको छ । पछिल्ला दिनहरूमा सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । अधिकारीहरूले पीसीआर विधिबाट जाँचिएका प्रत्येक चारमध्ये एकभन्दा बढी नमुनामा सङ्क्रमण पुष्टि भइरहेको भन्दै थप सावधानी अपनाउन आग्रह गरेका छन् ।
के छ तथ्याङ्क ? स् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने कोभिड-१९ सम्बन्धी विवरणमा अहिले देशभरि १८ हजार जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकामा भएको उल्लेख छ । अहिले काठमाण्डू उपत्यकामा १०,८११ जना निको हुन बाँकी सङ्क्रमित छन् । मन्त्रालयका अनुसार अहिले आईसीयूमा १११ जना र भेन्टिलेटरमा २५ जना बिरामी छन् । विगत २४ घण्टामा १,९१३ जना काठमाण्डूमा, ३७७ जना ललितपुरमा र ३१७ जना भक्तपुरमा नयाँ सङ्क्रमित थपिएका छन् ।