![]()



People’s News : नेपालमा ओमिक्रोन भेरिअन्टका दुईजना सङ्क्रमित फेला परेसँगै खासगरी काठमाण्डौ उपत्यकामा सम्भावित प्रतिबन्धात्मक कदमलाई लिएर सर्वसाधारणले चासो व्यक्त गर्न थालेका छन् । सामाजिक दूरी, मास्कको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्डको पालनामा फेरि कडाइ गर्नुपर्ने विज्ञहरूले सुझाइरहँदा कतिपय मानिस सम्भावित लकडाउनलाई लिएर झस्केका हुन् । ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिमा सङ्क्रमण भेटिएको सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो । दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म भारतसहित ४० भन्दा बढी देशमा फैलिसकेको छ ।
के भन्छन् सीडीओहरू ? : कोभिड महामारी शुरू भएयता नियन्त्रण तथा रोकथामका लागि काठमाण्डौ उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला प्रशासनहरूले एकसाथ प्रतिबन्धात्मक कदमहरू चाल्दै आएका छन् । उपत्यकामै ओमिक्रोनका सङ्क्रमित भेटिनुलाई आफूहरूले “गम्भीर” रूपमा लिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल बताउँछन् । अब छिट्टै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर हाम्रो तर्फबाट गर्नुपर्ने पूर्वतयारी र पूर्वसावधानीका उपाय के कस्ता हुनसक्छन् भन्नेबारे हामी एउटा निचोडमा पुग्छौँ, उनले भने । विगतमा जस्तै लकडाउन गर्ने वा नगर्ने विषय सङ्क्रमणको अवस्थाले निर्धारण गर्ने प्रजिअ रिजालले स्पष्ट पारे । सङ्क्रमितहरू बढ्दै गए र नियन्त्रणका लागि हामीले विभिन्न निषेधात्मक उपाय अपनाउनुपर्ने अवस्था सिर्जना भयो भने लकडाउनमा पनि जान सकिन्छ । तर अहिले नै लकडाउन वा निषेधाज्ञा जारी हुन्छ जस्तो लाग्दैन, उनले थपे । यद्यपि आउँदा दिनमा देखिनसक्ने प्रतिकूल अवस्थासँग जुझ्नका लागि अनौपचारिक तयारी थालिएको रिजालले बताए ।

पछिल्लो घटनाक्रमलाई लिएर उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरूबीच कुराकानी भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । हामीले निर्णय गरिसकेकै अवस्था चाहिँ होइन । अहिलेको स्थितिको मूल्याङ्कन गरी सामूहिक रूपमा बैठक बसेर हामीले उचित निर्णय लिनेछौँ, उनले भनिन् । त्यसअघि विगतमा जस्तै सङ्क्रामक रोग विशेषज्ञ, जनस्वास्थ्यविद्लगायत पक्षसँग परामर्श गरिने प्रजिअ शर्माले बताइन् । जनस्वास्थ्यका मापदण्डको पालनामा पछिल्लो समय हेलचेक्र्याइँ भइरहेको विज्ञहरूको गुनासोकाबीच तत्काल कडाइ हुनसक्ने सम्भावनालाई चाहिँ उनले नकारिनन् । कडाइ हुनसक्छ । नियन्त्रणको एउटा प्रभावकारी माध्यम भनेकै जनस्वास्थ्यका मापदण्डको पालना हो । सङ्क्रमण बढ्दै गएको अवस्थामा हामीले त्यही अनुसारको नीति पक्कै पनि लिनेछौँ,” प्रजिअ शर्माले थपिन् ।
आफ्नो जिल्लामा फेला परेका ओमिक्रोन सङ्क्रमितबाटै अरू मानिसहरूलाई फैलने अवस्था नभए पनि पूर्वसावधानीहरू अपनाइसकिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू औपचारिक/अनौचारिक रूपमा बसिरहेका छौँ । गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय भइरहेको छ, उनले भने । स्थितिको आकलन गर्दै भावी रणनीति तय गर्ने हो । अलिकति असहज परिपस्थिति आएपछि त्यसको सामना गर्नेगरी सतर्कतापूर्वक तयारी गरिरहेका छौ । अहिले पनि आफूहरूले धेरै भिडभाड हुने खालका गतिविधि नगर्न प्रोत्साहित गर्दै आएको प्रजिअ उपाध्यायले बताए । ओमिक्रोन फेला परिसकेको पृष्ठभूमिमा निर्देशनविपरीत ठूला खालका सभा, जुलुसको आयोजना गरिएमा स्थानीय प्रशासनहरूले हस्तक्षेप गर्लान् त ? जबाफमा उपाध्यायले भने, “समन्वयात्मक रूपमा सकेसम्म सचेतनाबाट र स्वास्थ्य मापदण्डको पालना गराएर नै यस्ता सङ्कटबाट हामी मुक्त हुनसक्छौँ । त्यसभन्दा फरक स्थिति सिर्जना भएको अवस्थामा एकीकृत रूपमा रणनीति तय गर्नुपर्ने हुन्छ ।
नेपालले पछिल्लो समय के गर्दैछ ? : नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूबाट प्रवेश गर्ने मानिसहरूलाई नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । त्यसैगरी खोपको विवरण लिने र पूर्ण मात्रा खोप नलगाएका तथा शङ्कास्पद देखिए एन्टिजन परीक्षण गर्ने गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरस भेरिअन्टः भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ ? तत्कालै रिपोर्ट आउने एन्टिजन परीक्षणमा पोजेटिभ फेला परेका मानिसलाई पुनः पीसीआर परीक्षण गर्ने र शङ्कास्पद नमुनाहरूको जीन सिक्वेन्सिङ पनि गर्ने गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सोमवार बताएका थिए । उनका अनुसार विगत एक महिना पहिलादेखि पोजेटिभ भएका नमुनाहरूको थप परीक्षण गर्ने गरिएको छ । 