पार्टी नेतृत्बको लागि युवपुस्ता जाममा

Loading

पिपुल्स न्युज : लोकतान्त्रिक शासन व्यवस्थाको प्रमुख आधार नै आवधिक निर्वाचन हो। त्यस देशको शासन व्यवस्था कस्तो छ भनेर समयमा निर्वाचन भए, नभएका कुराले पनि मूल्यांकन गर्छ। निर्वाचनबाट चुनिएर मुलुकको बागडोर सम्हाल्ने राजनीतिक दलहरूले पार्टी र आफ्ना भातृ संगठनको निर्वाचन समयमै गराउनुपर्छ। तर, राजनीतिक दल पार्टीकै महाधिवेशनका लागि चलमलाउन सक्रिय भए पनि भातृ संगठनको नेतृत्वलाई टिके प्रथामै अड्याएका छन्।

अहिले दुई ठूला राजनीतिक दल कांग्रेस र एमाले महाधिवेशनको तयारीमा छन्। केही साना दलले महाधिवेशन गरे, केहीको योजना छ। नेतृत्व हत्याउने प्रयासमा शीर्ष नेतृत्वको आआफ्नै सक्रियता रहनु यो समय स्वाभाविक हो। तर, पार्टीको नेतृत्वमा मात्रै ध्यान दिँदा र गुट, उपगुटमा विभाजित भएर पार्टीभित्रै राजनीति गर्दा यसको असर आफ्नै भ्रातृ संगठनमा वर्षौंदेखि परेको छ। राजनीतिक दलहरू पार्टीभित्रको महाधिवेशन नियमित रूपमा गर्दैनन्। यो कुरा लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकका नागरिकलाई अचम्मै लाग्छ। तर, नेपालका प्रमुख राजनीतिक दलहरू भ्रातृ संगठनको आवधिक निर्वाचन (महाधिवेशन) लामो समयदेखि टार्दै छन्।

कुनै पनि संगठनको जन्म, विषय वा वस्तुको आविष्कार ऐतिहासिक आवश्यकताले तय गर्छ। एउटा पार्टीको नेतृत्वभित्र सबै उमेर, समूह अटाउने र निर्देशित हुन सक्ने कुरै भएन। यसो भए त्यसमुनिका जनवर्गीय एवं भ्रातृ संगठनको आवश्यक नै पर्दैनथियो। तर, त्यस्तो पहिले भए पनि अब आवश्यक रहेन, समय अनुकूल परिमार्जन भयो। विभिन्न भ्रातृ संगठन आवश्यक भएर नै हो दलभित्र जन्मिएका। तर, औचित्य कायम गरिराख्न वा निरन्तरता दिन या त त्यसलाई समयानुकूल परिस्कृत र परिमार्जन गर्न नसकेकै कारण अहिलेको अवस्थासम्म उनीहरू पुगे। अहिले पनि मुख्य राजनीतिक दलका जनवर्गीय एवं भ्रातृ संगठनको नेतृत्व टीका लगाएकै भरमा थामिएका छन्।

ऐतिहासिक आवश्यकताले जन्माएका संगठनको औचित्य सकिनेबित्तिकै त्यसको कुनै अर्थ नै रहँदैन। त्यसको महŒव सोही समय सकिने हो। निरन्तरता दिइयो भने पनि नामका त संगठन रहन सक्छन् तर कामको भने रहँदैनन्। नेपालमा भने आवश्यकता रहे पनि पार्टी नेतृत्वको स्वार्थकै कारण जनवर्गीय संगठन पेण्डुलमको अवस्थामा छन्। आफ्नै भूमिका उनीहरूले भुल्दैछन्। जुन उद्देश्यले संगठन बन्यो, अहिले टीका लगाएर नेतृत्व सम्हाल्न पुगेकाहरूलाई त्यो कुरा थाहा छैन। जसले कुर्सीमा पुर्‍याएको हो, त्यसको जयजयकार गर्न बाहेक संगठन सुधार र मुलुकका युवाको लागि खेल्नुपर्ने भूमिकाको बिर्सिएका छन्।

२०३६, २०४६ हुँदै २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा नेपाली युवाले आफूलाई उत्सर्ग गरे। आन्दोलनको बलिबेदीमा आफूलाई होमे। ती आन्दोलन वास्तवमा युवाहरूको विद्रोहको विस्फोटसमेत थियो। यसरी विभिन्न कालखण्डमा जनताका पक्षमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने दलका जनवर्गीय संगठनमा समेटिएका युवाहरू अहिले खुम्चिएका छन्। भूमिकाविहीन छन्। पछिल्ला वर्षमा आफंैंभित्रको बेमेलका कारण उनीहरूका आफ्नै भेला रोकिएका छन्।

जनवर्गीय एवं भ्रातृ संगठनको चलायमान हुन नसक्दा युवा पिँढीको नेतृत्व विकास पनि रोकिएको छ। सफल नेता बन्न सक्नेहरू जाममा परेका छन्। युवा नेता भन्दाभन्दै नेतृत्वमा नपुगी वृद्धको सूचीमा पर्दैछन्। युवा नेता तथा कार्यकर्ताले बदलिँदो राजनीतिक परिदृश्यमा आफ्ना उत्तरदायी भूमिका कसरी निर्वाह गर्न सक्छन् जनताले महसुस गर्न पाएका छैनन्। यो जाममा परेकाहरूले अब आफूलाई परिवर्तनकारी भूमिकामा कत्तिको खरो रूपमा उतार्न सकिन्छ भन्ने देखाउने समय पनि हो यो। लोकतन्त्रको संस्थागत विकास गरी स्वतन्त्रताको पहरेदारका रूपमा र नेतृत्वलाई सही मार्गमा दौडाउने भूमिका युवाको हो। टीका लगाएर जिम्मेवारी दिँदैमा जनवर्गीय एवं भ्रातृ संगठन मजबुत हुँदैन।

Leave a Comment