![]()
People’s News : बैंकिङ खबर । स्थिर व्यादरलाई उलंघन गर्दै एनआइसी एशिया बैंकले स्थिर व्याजका ऋणीहरुलाई व्याजदर बढाएको छ । उक्त बैंकले यस अघि तोकेको पाँचबर्षे, १० बर्षे स्थिर व्याजदर तोकेर कर्जा प्रवाह गरेको थियो । बैंकले बढीमा १८ बर्ष सम्मको घर कर्जा र गाडि कर्जामा स्थिर व्याजदर तोकेको छ । ‘पहिले स्थिर व्याजदर तोकेर कर्जा लैजाने अफर ल्यायो, अहिले बैंकले फोन गरेर बोलाएर, व्याज बढ्ने बतायो’ एनआइसि एशिया बैंक वुटवलबाट होम लोन लिएका श्यामराजा शर्माले बताए । आइतबार विभिन्न बैंकका शाखाहरुले ग्राहकलाई टेलीफोन गरेर व्याज बढेको बताएका छन् भने केही शाखाहरुले बैंकमा उपस्थित हुन भनेर नयाँ कागजमा हस्ताक्षर गराउने काम गरेका छन् । एनआइसी एशिया बैंक केन्द्रीय कार्यालय थापाथलीले भित्रि सर्कुलर जारी गरेर प्रादेशिक कार्यालयलाई यस्तो निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार प्रादेशिक कार्यालयहरुले अरु शाखालाई व्याज बढाउन निर्देशन दिएका छन् ।
बैंकले सातवटै प्रादेशिक कार्यालयलाई बढेको व्याजमा ग्राहकलाई हस्ताक्षर गराउने सर्कुलर जारी गरेको हो । सो निर्देशन आएपछि बैंकका कर्मचारीहरु दोहोरो मारमा परेका छन् । ‘माथिको आदेश आएपछि हामीले केही गर्न मिल्दैन, स्थिर व्याजदरलाई परिवर्तन गरेर व्याज बढाउन लगाइएको छ,’ एनआइशी एसिया बैंकको एक प्रादेशिक कार्यालयका म्यानेजरले बेंकिङ खबरलाई भने ‘ग्राहकहरुले गाली मात्रै गरेका छन्, के गर्ने के नगर्ने ।’ उनले आफूहरुलाई बैंकले तनाबमा पारेको भन्दै नाम प्रकाशित नगर्न अनुरोध गरे । सोही अनुसार यहाँ नाम र शाखा खुलाइएको छैन । बैंकका केही कर्मचारीले तनाव सहन नसकेर राजीनामा समेत दिएका छन् । आइतबार र सोमबार गरेर करिव ४ जर्दन कर्मचारीले बैंक छाडेका छन् । बैंक छाड्ने अधिकाँस कर्मचारीहरु काठमाडौं बाहिरका छन् । बैंक स्रोतले भने करार अवधिका कर्मचारी हटाइएको दावी गरेको छ । ‘राजीनामा दिएका होइनन्, करारका कर्मचारी हटाइएको हो’ बैंक स्रोतको भनाई छ ।
नियमित ब्याज र किस्ता तिरिरहेको व्यक्तिलाई पनि बैंकले बोलाएर स्थिर व्याजदरको व्याज बढाउने प्रस्ताव गरेको छ । बढेको ब्याजमा हस्ताक्षर गर्नु पर्ने अन्यथा सबै कर्जा भुक्तानी गर्नुपर्ने बैंकको सर्त छ ।
नेपाल राष्ट्र बैंकले यस अघि उपभोक्ता ऋणको ब्याज दर स्थिर गर्ने नीति ल्याउँदा घर कर्जा र गाडि कर्जामा एनआइसी एशिया बैंकले अत्याधिक लामो समयको कर्जा प्रवाह गरेको थियो । उक्त बैंकबाट यस्तो स्थिर कर्जा करिव ४० हजार भन्दा बढी ग्राहकले लिएका छन् । सो बैंकले स्थिर ब्याजमा ऋण दिन अरु बैंकको भन्दा आकर्षक स्कीम ल्याएको थियो। आकर्षक स्किम देखाएर कर्जा दिएको र अहिले व्याज बढाउने सर्त राखेको ऋणीहरुको भनाई छ । बैंकका विभिन्न प्रादेशिक कार्यालयहरुको निर्देशनमा शाखा कार्यालयहरुले धमाधम व्याज बढेको भन्दै भुक्तानीका लागि दवाव दिन थालेका छन् । ग्राहकहरुलाई बढेको ब्याजमा हस्ताक्षर गराउन लगाइएको छ । अन्यथा सबै कर्जा भुक्तानी गर्नुपर्ने सर्त छ ।