![]()
एकजना संक्रमित हुँदा न्युजिल्यान्डमा लकडाउन
Peoples News : पछिल्लो ६ महिनाभित्र न्युजिल्यान्डमा एकजनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । तर, न्युजिल्यान्ड सरकारले संक्रमित फेला परेको सहर अकल्यान्डभर एक साताको लकडाउन घोषणा भएको छ । कोरोना भाइरस रोकथाम र आफ्ना नागरिकप्रति न्युजिल्यान्ड सरकार कति सचेत छ भन्ने यो मननीय उदाहरण हो । न्युजिल्यान्डका अधिकारीहरूका अनुसार अकल्यान्डका एक व्यक्तिमा डेल्टा भेरियन्ट देखिएको छ । ५८ वर्षीय ती व्यक्ति एक सातादेखि बिरामी थिए । सोमबार उनको रगत परीक्षण गर्दा डेल्टा भेरियन्ट भाइरस पुष्टि भएको हो । त्यसपछि तत्कालै सरकारले अकल्यान्डमा लकडाउन घोषणा गर्यो ।
न्युजिल्यान्डमा २० प्रतिशत नागरिकाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । यस्तै ३३ प्रतिशतले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । यहाँको कुल जनसंख्या ५० लाख हो । न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनले लकडाउनभर देशभरका स्कुल, अफिस, व्यापारिक केन्द्र तथा कार्यालयहरू बन्द हुनुपर्ने बताएकी छिन् । न्युजिल्यान्डलाई डेल्टा भेरियन्टबाट रक्षा गर्न लकडाउनबाहेक अन्य विकल्प नभएको उनले बताएकी छिन् । म न्युजिल्यान्डका सबै क्षेत्र सुरक्षित भएको हेर्न चाहन्छु, उनले भनेकी छिन् । अहिलेको अवस्था पहिलाभन्दा डरलाग्दो छ, यसकारण सबैले यसपटक पनि धैर्यका साथ सरकारले जारी गरेको नियम पालना गर्नुहोला । सरकारी मिडियाअनुसार अकल्यान्डमा डेल्टा भेरियन्ट फेला परेपछि २३ स्थानमा कन्ट्याक्ट टेसिङ सुरु भएको छ । 
न्युजिल्यान्डको स्वास्थ्य विभागले अकल्यान्डमा डेल्टा भेरियन्ट फैलन नदिन सबै किसिमका संयन्त्र अपनाएको जनाएको छ । संक्रमित व्यक्ति वा शंकास्पद व्यक्तिका निमित्त सरकारले नै क्वारेन्टिनको व्यवस्था गरेको विभागको भनाइ छ । विभिन्न देशमा डेल्टा भेरियन्ट न्युजिल्यान्डमा हालसम्म देखिएको थिए । यसकारण न्युजिल्यान्ड सरकारले अगाडिदेखि नै तयारी गरेको प्रधानमन्त्री जेसिन्डाले बताइन् । ‘यो भेरियन्टविरुद्ध लड्न हामी पहिलादेखि नै तयारी थालेका थियौँ, यदि हामीले सुरुमै कडा नियम पालना गर्न सक्यौँ भने भविष्यमा यसले राम्रै नतिजा दिन्छ,’ प्रधानमन्त्री जेसिन्डाले भनिन् । न्युजिल्यान्ड सरकारले अन्तर्राष्ट्रिय सीमाना बन्द गरेको छ । न्युजिल्यान्डमा अहिलेसम्म दुई हजार नौ सय २६ जना संक्रमित भएका छन् । जसमध्ये दुई हजार आठ सय ५७ जना निको भएका छन् । कोरोनाका कारण यहाँ २६ जनाले ज्यान गुमाएका छन् ।
बेलायतमा बिदा मनाउन छुट : बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमित संख्या शून्य छ । यहाँ इंग्लिस प्रिमियर लिग पनि सुरु भइसकेको छ । भारत र इंग्ल्यान्डबीचको टेस्ट सिरिज चलिरहेको छ । फुटबल र क्रिकेट प्रतियोगितामा हजारौँ दर्शक रंगशालामा पुगेका छन् । सरकारले दैनिक जीवन चलायमान बनाउनकै लागि सर्वसाधारणलाई धेरै नै छुट दिएको छ । अहिले यहाँ निश्चित मापदण्ड पूरा गरेका सर्वसाधारणले बिदा मनाउन सक्छन् । बेलायत, स्कटल्यान्ड तथा वेल्समा कुनै पनि किसिमका भौतिक दूरी, संख्या तथा मास्कसमेत अनिवार्य छैनन् । बेलायत सरकारले कोरोनाका सबै नियम पालना गरी बिदा मनाउन सकिने जनाएको छ । आवश्यक पर्ने सबै नियम पालना गरेको अवस्थामा सहजै कहीँ पनि बिदा मनाउन सकिन्छ । बेलायतको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भ्याक्सिन नलगाएका व्यक्ति सचेत भएर बाहिर निस्कनुपर्नेछ । बेलायतमा अहिलेसम्म ६२ लाख ९५ हजार ६ सय १३ जना संक्रमित भएका छन् । कोरोनाका कारण यहाँ एक लाख ३० हजार ७९ जनाले ज्यान गुमाएका छन् ।