कवि हरि डाँगीको क्रान्तिकारी कविता

24365शिर्षक : ” ओझेलमा परेको गणतन्त्र

यथार्थको महल बनाउने सोचमा
आन्दोलनमा अघि सरेको म
र त्यति बेला अश्रुग्यासको पीडा खाएर
एकाग्र मन बोकि लोलाइरहेको म ।

बोकेर हातभरी इँटा र ढुङ्गा
तानाशाहहरुको शिर झुकाउन
समयको गतिशीलतासगै
जिन्दावाद र मुर्दावादको नारा घन्काउन
नयाँ सडक/ भोटाहिटी छिरेको म ।

म पुग्नु अगावै
डन्डा बन्दुक बोकि सत्ताका मतियार
पुगिसकेका त्यस ठाउँमा
पानीको फोहोरा बन्दुकका नाल र तैनाथ प्रहरी

समृद्धिका मिठा नारा बोकेर223654
भिडभाडमा तछाडमछाड गर्दै हिडेको दिन
भोकले रन्थनिएर लडेको याद
अनि भोको पेट भर्न पंक्तिमा बसेको
ढुलमुलिदै बिहानीपख
त्यो सम्झिएर रोएको यो मन ।

भो म त समृद्धिका खातिर आन्दोलनमा होमिएँ
जनजिविका अनि परिवर्तनका खातिर सडक मैदानसँगै सिंहदरबारका मूल गेटसँगै
लाल झण्डा फहराउँदै
आशातित किरण बोकि
नयाँ उत्सर्ग प्राप्त खातिर ।

यहाँ सोचनिय कुरा त
परिवर्तन आउनु पहिले नै
सत्ता मोहको भागबन्डामा हिसाब किताब भैसकेछ ।

समृद्धिको सपनामा अलमलिएपछि
के साइनो जनताको
र तिनको दुखको भवसागरसँग ?
किन राख्नु चासो हरेकको मर्म दुखेसोसँग ?

बिर्सिदैछन् जनता
आसिन्न महल र सुविधाभोगबाट
सत्ताका स्वादेहरुले बनाइसकेछन्
चारैतिर इसावेल टावरहरु
बेची खाइसकेछन् देशका कयौं सम्पदाहरु ।

गुमिसके तिनका ईमान र प्रतिष्ठाहरु
भत्काइसके संस्कृतिका झ्यालहरु
तर यत्ति ठुलो त्यागमा
दैनिक निराशाका त्यान्द्राहरुको चाँङ लागिसकेको छ जनताको आशा भरोसामा टुसारापात छाएको छ ।

र म यो बेला आक्रोशका गीतहरु गाउँन विबश छु ।

त्यही आन्दोलनमा खाएको डन्डा कल्पिन्छु ।

आफ्नै संसारमा रमाएका अशुरहरुको मति देख्दछु ।

साच्चै नै म के का खातिर दौडिएँ ?

पाएँ मैले के ?

पाएँ त भ्रष्टाचार, अनाचार, दुराचार र महङ्गिका पोका ।

अब दुनियाँ फेरि जाग्नुछ
क्रान्तिको बिगुल फुक्नुछ ।
जनता जगाई देशलाई फेरि अर्को
परिवर्तनको आभास पक्कै गराउनुछ ।।।

लेखक – कवि तथा शैक्षिक उन्नयनकर्ता : हरि डाँगी ।
कवि डाँगी इष्टपोल माध्यामिक विद्यालयमा अध्यापन गराउनुहुन्छ ।

रविन्द्र ढुंगेल

Leave a Reply