स्वास्थ्य केन्द्र तीन वर्षदेखि डाक्टरविहीन

Loading

डाक्टर पाउनै मुस्किल
People’s News : ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित तेम्बे प्राथमिक स्वास्थ्य केन्द्र तीन वर्षदेखि डाक्टरविहीन छ । यहाँको स्वास्थ्य सेवा एचए, अहेव र अनमीका भरमा चलिरहेको छ । डाक्टर नहुँदा सामान्य बिरामी पर्दा पनि जिल्ला अस्पताल र तराईका अस्पताल जानुपर्ने बाध्यता छ । रेडियोलोजी एक्सरे, ल्याब र यूएसजी, शल्यक्रियासहितको प्रसूति सेवा प्रदान गर्नुपर्नेमा स्थानीयले आधारभूत सेवा नै पाउन मुस्किल छ ।कोरोना महामारीले आक्रान्त बनाइरहेका बेला पनि गाउँपालिकाले डाक्टरको व्यवस्था गर्न नसकेको स्थानीय बिमला लिम्बूले बताइन् । ‘कोरोनाको सामान्य लक्षण देखिँदा पनि स्वास्थ्य परीक्षणका लागि महँगो रकम तिरेर बाहिर जानुपरेको छ’, लिम्बूले भनिन्, ‘प्राथमिक स्वास्थ्य केन्द्र नाम मात्रैको भयो।’ कोरोनाका बिरामी र सुत्केरी, गर्भवतीलाई धेरै समस्या भइरहेको उनले सुनाइन्। शवको पोस्टमार्टमका लागि पनि सदरमुकाम पुग्नुपरिरहेको अर्का स्थानीय किरण लिम्बूले सुनाए । पटक–पटक प्रयास गर्दा पनि डाक्टर राख्न नसकिएको मैवाखोला–२ का वडाध्यक्ष सुरेन्द्र लिम्बूले बताए । मैले सकेजति प्रयास गरेँ । तर, गाउँपालिकाले साथ नदिएपछि सकिनँ’, वडाध्यक्ष लिम्बूले भने । गाउँपालिकाले नै डाक्टर ल्याउन चासो नदेखाएको उनको गुनासो थियो । सिदिङ्वा र मिक्वाखोला गाउँपालिकाले पनि कोभिड अस्पतालमा डाक्टर राख्न सकेका छैनन्। नर्सका भरमा अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था छ । डाक्टर भेट्न  सदरमुकाम फुङलिङ आइपुग्नुपर्छ । सिरिजंघा, आठराई त्रिवेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र फक्ताङलुङ गाउँपालिकाले भने पाँचपटक विज्ञापन खुलाएर डाक्टर राखेका छन् । तलब स्केलमा मासिक ५० हजार रुपैयाँ र प्रोत्साहन भत्तासमेत थपेर डाक्टर राखेको आठराई त्रिवेणीका अध्यक्ष विश्वनाथ सिटौलाले बताए ।जिल्ला अस्पतालसहित ताप्लेजुङमा ५३ स्वास्थ्य संस्था छन्। अधिकांशमा करारका स्वास्थ्यकर्मी कार्यरत छन्। ‘दुर्गम भन्दै स्थायीमा आउन नमानेपछि करारमा राखेर काम चलाइरहेका छौं,’ सिटौलाले भने, ‘सर्वसाधारणले उपचारका लागि राम्रा डाक्टर भेट्न सदरमुकाम पुग्नुपर्ने अवस्था छ ।

यस्तै, प्रशासनिक हिसाबले उदयपुर जिल्ला ‘क’ श्रेणीमा छ। तर, स्वास्थ्य सेवा भने निकै कमजोर छ। ५ बिघा क्षेत्रफल ओगटेको १५ बेडको जिल्ला अस्पताल स्थापनाको ३२ वर्षपछि २०७० सालमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट ५० बेडमा परिणत भयो। क्षमता वृद्धिसँगै आवश्यक जनशक्तिका लागि दरबन्दी सिर्जना गरे पनि मन्त्रालय र विभागले दक्ष प्राविधिक कर्मचारी पठाउन नसक्दा अस्पतालको विशेषज्ञ सेवा प्रभावकारी हुन नसकेको कर्मचारीले बताए । अस्पतालमा ११ औं तह प्रमुख कन्सल्टेन्ट १, विशेषज्ञ ९, मेडिकल अफिसर ४ र अन्य प्राविधिक र कर्मचारी गरी ५९ जनाको दरबन्दी रहेको अस्पतालका सूचना अधिकारी विर्षबहादुर खत्रीले बताए। उनका अनुसार दरबन्दी धेरै भए पनि अस्पतालमा स्थायी नियुक्तिका विशेषज्ञ हालसम्म एकै जना पनि छैनन् । विशेषज्ञ चिकित्सक नआएपछि अध्ययन सकेर प्राक्टिकल (सिकाई अभ्यास) गर्न आएका दुई जना विशेषज्ञ चिकित्सकको भरमा अस्पताल छ। माथिल्लो तहका स्थायी चिकित्सक नआएपछि मेडिकल अधिकृत डाक्टर जीवनारायण मण्डललाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ । छात्रवृत्ति पाएर अभ्यासका लागि आएका मेडिकल अधिकृत पनि अभ्यास शिक्षणको समय सकिएकाले रिक्त रहेको खत्रीले बताए। विशेषज्ञ ल्याउनका लागि प्रदेश र संघीय सरकारमा पटक–पटक कुरा उठाए पनि आश्वासन मात्रै पाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले बताए।

Leave a Comment