परीक्षण दर घटयो तर संक्रमणदर उस्तै

Loading

Peopel’s News : धनगढी : सुदूरपश्चिम प्रदेशमा निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोनाका बिरामीको संख्या बढ्न थालेको छ। प्रदेशभरि गरिएको परीक्षणमा मंगलबार ६१ जनामा संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार ६ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजिटिभ आएको हो। यस्तै, १ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै १ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३९ व्यक्तिमा कोरोना पुष्टि भएको छ। अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा पोजिटिभ देखिएकामध्ये ३७ जना कैलाली र २ जना अरू जिल्लाका रहेको जारी सूचनामा उल्लेख छ।

अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरले यो संख्या चिन्ताजनक भएको बताए। ‘अहिले परीक्षण संख्या घटेको छ। त्यसैले कम मानिसहरूमा कोरोना पुष्टि भइरहेको छ। तर, प्रतिशत खासै घटेको छैन’, डा. कमरले भने, ‘१ सय ५ जनामा ३९ भनेको ३७ प्रतिशत हो । हिजोका दिनमा दैनिक ५ हजारमा १५÷१६ सयमा कोरोना देखिन्थ्यो। त्यो प्रतिशत र अहिलेको प्रतिशत तुलना गर्ने हो भने संक्रमणको दर खासै घटेको छैन । उनले अहिले देखिएको कोरोनामा गम्भीर प्रकृतिका बिरामीको संख्या भने घटेको बताए। सेती प्रादेशिकमा अहिले पनि तीन जना आईसीयू र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। ‘अस्पतालमा १० जना कोरोनाका बिरामी भर्ना भएका छन्। आईसीयू र भेन्टिलेटर पनि खाली छैन’, उनले भने, ‘त्यसैले हेलचेक्र्याइँ गर्ने बेला भएको छैन । सुदूरपश्चिमका बढी कोरोनाका बिरामी हुने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा प्रशासनले निषेधाज्ञा खुकुलो गरेका छन्। दुवै जिल्लाका बजार पूरै खुलेका छन्। प्रशासन कार्यालयले २५ जनाको संख्यामा मात्रै कार्यक्रम गर्ने अनुमति दिए पनि नापी, मालपोत र यातायात कार्यालयमा भने दैनिक हजारभन्दा बढी सेवाग्राहीको भीड लाग्ने गरेको छ ।

‘मालपोत र नापी कार्यालयमा टाँसिएर सेवाग्राही लाम लागिरहेका छन्। बारअनुसार सेवा तोकिए पनि पहुँच हुनेहरूको जुनसुकै दिन पनि कार्यालयको काम हुने गरेको छ’, मालपोतमा भेटिएका गोदावरी ८ का रतनबहादुर बमले भने, ‘त्यसकारण यी कार्यालयहरूमा भीडभाड बढेको हो । कैलाली र कञ्चनपुरको पूरै बजार खुलेका छन्। होटल रेष्टुराँ पनि बिहान ५ देखि बेलुकी ८ बजेसम्मका लागि खुलेका छन्। स्थानीयवासी स्वास्थ्यका मापदण्ड नअपनाएर होटल रेस्टुराँ जाने गरेका छन्। स्वास्थ्यकर्मी भन्छन्, ‘निषेधाज्ञामा मात्र कोरोना सर्छ भन्ने भावनाको विकास भयो। मानिसहरू अझै लापरवाही गरिरहेका छन् । अझ जिल्लाभित्रको सार्वजनिक यातायात पनि खुलेको छ। सार्वजनिक यातायात र निजी गाडीहरू जोर–बिजोर प्रणालीमा सञ्चालन हुन थालेपछि भीडभाड बढ्न थालेको छ। प्रशासनले अटो रिक्सामा चालकसहित तीन र चारपांग्रे सवारीमा चालकसहित चार जना तोके पनि त्यसको पालना भएको छैन। ‘अटोमा चालकसहित पाँच÷पाँच जनासम्म पनि सवारी बोक्न थालेका छन्। यसले संक्रमण झन् बढाउँछ’, धनगढी मुख्य बजारका वीरबहादुर महराले भने । आजको अन्नपुर्णबाट

Leave a Comment