![]()
People’s News : काठमाडौं : सरकारले कोरोना संक्रमण दर स्थिर अवस्थामा रहेको बेला मुलुकका सातवटै प्रदेशमा सेरो प्रिभलेन्स सर्भे गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार संक्रमणको अवस्था अध्ययन गर्न आगामी सातादेखि प्रिभलेन्स सर्भे गर्न लागिएको हो । उक्त सर्भेमा सबै प्रदेशको प्रतिनिधित्व हुने गरी मुलुकभरबाट १३ हजार नमुना संकलन गरिनेछ । विभिन्न उमेर समूहमा रगत परीक्षण गरिनेछ । यसबाट कुन उमेर समूहमा र कुन ठाउँमा बढी संक्रमण थियो भन्ने जानकारी प्राप्त हुनेछ । यसअघि पनि ६ हजार नमुना संकलन गरी सेरो प्रिभलेन्स सर्भे गरिएको थियो । उक्त अध्ययनमा सातवटै क्षेत्र समेटिएको थिएन । यसपटक नमुना बढाइएको छ । मन्त्रालयका प्रवक्ता डा. पौडेलले बाक्लो जनसंख्या भएका प्रमुख सहरहरू र अन्य क्लस्टरमा गएर टोलीले नमुना संकलन गर्ने बताए । उनले भने, ‘कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमणको अवस्था कस्तो रह्यो ? कति प्रतिशत संक्रमित भए भन्ने जानकारी प्राप्त हुन्छ । कोरोनाविरुद्ध प्रतिकार्यका लागि योजना बनाएर कार्यान्वयन गर्नमा सहयोग गर्छ । सर्भेक्षणका लागि नेपाल जनस्वास्थ्य परिषद्बाट आवश्यक पर्ने प्रोटोकल स्वीकृत भइसकेको छ । सेरो प्रिभलेन्सबाट हर्ड इम्युनिटि भए÷नभएको पत्ता लगाउन सहयोग पुग्ने विज्ञहरू बताउँछन् ।
कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा मुलुकभर अल्फा, डेल्टा र कप्पा भेरियन्ट सक्रिय देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भाइरोलोजिष्ट एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बासुदेव पाण्डे बेलायत र भारतमा उद्गम भएका कोरोना भाइरसका भेरियन्टले मुलुकभर संक्रमण फैलाएको बताउँछन् । डा. पाण्डे भन्छन्, ‘अहिले संक्रमण दरमा केही कमी आएको छ। परीक्षण नै थोरै संख्यामा गरिएकाले संक्रमण घटेको हो । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ९ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको थियो । १४ हजार ३ सय ५१ जनाको परीक्षण गरिएको थियो । जसमध्ये ९ हजार ५ सय ८६ जनाको पीसीआर र ४ हजार ७ सय ६५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।