![]()
People’s News : पोखरा — मर्स्याङ्दीको बाढीले तालगाउँ डुबानमा परेपछि ५३ वर्षीय केशबहादुर गुरुङलाई घरमा रहेका दुई छोराको चिन्ताले सताएको छ । उनी जागिरको सिलिसिलामा माथिल्लो मनाङमा छन् । तालगाउँमा छोराहरूले आफन्तकहाँ शरण लिएको थाहा भए पनि सम्पर्क हुन सकेको छैन । सदरमुकाम चामेमा रहेको होटल घट्टेखोलाको बाढीले जोखिममा छ । अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले डुबेको मनाङको नासों गाउँपालिका–१ मा रहेको तालगाउँ । समुद्री सतहदेखि करिब १ हजार ७ सय मिटर उचाइमा रहेको तालगाउँमा ५५ घरपरिवारको बसोबास रहेको छ । मनाङमा धेरै घरमा छाना माटोको छ । अत्यधिक वर्षाले छानो चुहिन थालेको उनले बताए । ‘मनाङमा यति धेरै पानी परेको पहिलोपल्ट थाहा पाएको हुँ,’ गुरुङले भने, ‘कहिल्यै केही नभएको तालगाउँ अहिले डुब्यो । चामेको ठाडो खोलामा बाढी आयो ।’ झन्डै ३५ सय मिटर उचाइमा रहेका मनाङका बस्तीमा शनिबारदेखि झरी परिरहेको छ । ४ हजार मिटरमाथि भने हल्का हिमपात भइरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमलाई पनि स्थानीय बूढापाकाले यतिबिघ्न पानी यसअघि कहिल्यै नपरेको सुनाए । चामेको बीच भागबाट बग्ने घट्टेखोलामा अत्यधिक वर्षाले पहिरोसहितको बाढी आयो । लमजुङ हिमालको फेदीबाट आउने यो खोलामा यसअघि जेठ १६ मा पनि बाढी आएको थियो । बजार छिरेको दुई ठाडो खोलाले त्यतिबेला सामान्य क्षति पुर्याए पनि मंगलबार ६ घर बगायो ।
अन्य ५ घर अझैं जोखिममा छन् । मर्स्याङ्दी, घट्टेखोला, स्यार्क्युखोला, तिमाङखोला, धारापानीमा आएको बाढीपहिरोले बिजुलीको पोल ढालेका छन् । फोनको तार चुडालेका छन् । बेलिब्रिज र काठेपुल बगाएका छन् । जेठ १६ देखि नै यातायातबाट सम्बन्धविच्छेद भएको मनाङमा सडक, पुल मर्मत गरेर सञ्चालनमा आउन अझैं ६ महिना लाग्न सक्ने गौतम बताउँछन् । उनका अनुसार गएको हिउँदमा मंसिर, पुसमा पर्नुपर्ने हिउँ माघको अन्त्यमा मात्रै पर्यो । गत वर्ष कम मात्रामा हिमपात भयो । अघिल्लो वर्षहरूमा हिउँदमा परेको हिउँ वैशाखसम्मे रहने भए पनि यो वर्ष फागुनमै पग्लियो । ‘अहिले फेरि मनसुनी वर्षाले बाढीपहिरो आयो,’ उनले भने, ‘यसलाई जलवायु परिवर्तनकै प्रभावका रूपमा लिन सकिन्छ । हिमालपारिकै जिल्ला मुस्ताङको ठिनी खोलामा मंगलबार ठूलै बाढी आयो । नीलगिरि हिमालको फेदैफेद बग्ने यो खोलामा यति ठूलो बाढी आएको स्थानीयले पहिलोपल्ट देखेका हुन् । मुस्ताङका जिल्ला समन्वय समिति सदस्य एवं ठिनीका स्थानीय ४२ वर्षीय सञ्जय थकालीलाई ठिनीको बाढीले अचम्मित तुल्यायो । ‘ससानो बाढी पहिला पनि आउँथ्यो,’ उनले भने, ‘यसरी उर्लिएको पहिलोपल्ट देखेँ ।’ शनिबारदेखि मुस्ताङमा पनि लगातार पानी परिरहेको छ । यति लामो अवधिसम्म निरन्तर पानी परेको थकालीले यसअघ थाहा पाएका थिएनन् । ठिनी मात्रै होइन, मुस्ताङका अन्य ठाडो खोलाहरूमा पनि बाढी आएका छन् ।
मार्फा खोला बढ्दा मंगलबार जोमसोम–मार्फा सडक खण्ड नै अवरुद्ध भयो । टुकुचे हिमालबाट उत्पत्ति भएको थापा खोला उर्लिंदा निर्माणाधीन १३ मेगावाटको हाइड्रोमा क्षति पुग्यो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ऐतिहासिक लुप्रा गाउँ नै जोखिममा पर्ने गरी सोमबार पान्डा खोलामा बाढी आयो । लेदोसहितको बाढीले खेत पुर्यो । कालीगण्डकी नदीमा पानीको बहाव उच्च भयो । गएको हिउँदमा प्रशस्त हिमपात नहुँदा अहिले बाढी आएको थकालीको मान्यता छ । ‘हिउँदमा परेको हिउँ बर्खासम्म जम्थ्यो र पो त्यसले पानीलाई बग्न दिने थिएन,’ उनले भने, ‘हिउँ परेन भने खोला बहुलाउँछ भन्थे बूढापाकाले, अहिले त्यस्तै भएको छ । वातावरणविद् नवराज पोखरेल हिमाली भेगमा अस्वाभाविक बर्खा भएर बाढी पहिरो आउनुमा जलवायु परिवर्तनलाई नै कारक मान्छन् । कालीगण्डकी बेसिनमा जलवायु परिवर्तनले पारेको असरबारे विद्यावारिधि गरिरहेका उनले मनसुन सुरु भएको पहिलो सातामै हिमाली भेगमा आएको बाढीपहिरो र त्यसले गरेको असर अस्वाभाविक भएको उनी बताउँछन् । ‘पहिला सबैभन्दा धेरै पानी पर्ने पोखराको लुम्लेपट्टि वार्षिक ४ हजार २ सय मिलिमिटर पानी पर्दा मनाङमा २ सय मात्रै पर्थ्यो,’ उनले भने, ‘अहिले यो ट्रेन्ड परिवर्तन भएको छ ।’ उनका अनुसार पृथ्वीको तापक्रम ०.०६ प्रतिशतले वृद्धि भइरहेको छ । त्यसकै असरस्वरूप हिमरेखाको उचाइ बढ्दै गएको छ । हिमनदी पग्लने क्रममा वृद्धि र बरफ सञ्चयको मात्रा घटेको छ । बढ्दो तापक्रमले नदी उत्पत्ति भएका हिमालमा समस्या आएको छ । हिमनदी तीव्र रूपमा पग्लिरहेका छन् । ‘जलवायु परिवर्तनको असरले पानीको वितरणमा औसतभन्दा फरकपन आएको छ,’ जल तथा मौसम विज्ञान विभागमा विज्ञका रूपमा रहेर काम गरिसकेका उनले भने, ‘तापक्रम बढ्दै जाँदा हिउँ पानीको रूपमा पर्न थालेको छ ।
हिमाली भेगका बस्ती र त्यहाँका स्थानीयलाई जलवायु परिवर्तनसँग अनुकूलन हुने गरी योजना बनाउनुपर्ने उनी बताउँछन् । धेरै पानी पर्दा थेग्ने किसिमको संरचना नभएकोले अनुकूलन योजना नहुने हो भने क्षति बढी हुने उनको आकलन छ । ‘हिउँसँग अनुकूल हुने गरी घर बनाइएका छन्,’ उनले भने, ‘पूर्वतयारी नगर्ने हो भने क्षति बढ्दै जान्छ । त्रिभुवन विश्वविद्यालयका वातावरण विज्ञान प्राध्यापक मदन कोइराला भूमण्डलको सबैभन्दा माथिल्लो तह थर्मोस्फियरमा संरचनात्मक फेरबदल भइरहँदा पानीको मात्रामा घटबढ भइरहने बताउँछन् । चीनको तिब्बत र भारतको यूपी, विहारको गतिविधिले नेपालको वायुमण्डललाई असर गरिरहेको उनले बताए । जलवायु परिवर्तनबाट सिर्जित हुने बाढीपहिरोजस्ता प्रकोपबाट धेरै क्षति हुन नदिन भू–सूचना प्रणालीलाई सक्रिय गराउनुपर्ने उनको तर्क छ । तल्लो तटीय क्षेत्रका मानिसलाई सचेत गराउन पूर्वजानकारी प्रणाली जडान गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसका लागि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ ।

हिमालपारि वर्षा औसतभन्दा अधिक : विगत ३० वर्षको तथ्यांक केलाउँदा मुस्ताङमा भएको वर्षा हालसम्मकै अत्यधिक हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मुस्ताङमा सन् १९९१ देखि २०२० सम्म वार्षिक औसत वर्षा २ सय ८९ मिलिलिटर थियो । प्रि–मनसुन (मार्चदेखि मे) मा ७० मिलिलिटर, मनसुन (जुनदेखि सेप्टेम्बर) मा १ सय ६० मिलिलिटर र जुन महिनामा ३२ मिलिलिटर औसत पानी परेको रेकर्ड छ । तर यस वर्ष सन् २०२१ को जुन १७ सम्म २ सय ५० मिलिलिटर पानी परिसकेको छ । प्रि–मनसुनमा १ सय ४२ मिललिटर र मनसुनको १७ दिन (जुन १७ सम्म) मा १ सय ४२ मिलिलिटर पानी परिसकेको छ । वर्षाको दर विगत ३० वर्षको भन्दा ५ गुणा बढी हो । मनाङको हुम्डे विमानस्थलमा सन् २०१५ देखि २०२० सम्म रेकर्ड भएको वर्षाको तथ्यांकभन्दा यस वर्ष ८ गुणा बढी पानी परेको छ । यस वर्ष जुन महिनाको १ देखि १७ सम्म एक सय ९७ मिलिलिटर पानी परिसकेको छ । जबकि पाँच वर्षमा उक्त अवधिमा जम्मा २३ मिलिलिटर पानी परेको थियो । जुन महिनाभरि पाँच वर्षको औसत वर्षा ४२ मिलिलिटर मात्रै छ । पाँच वर्षमा मनाङको औसत वार्षिक वर्षा ३ सय ७५ मिलिलिटर, प्रि–मनसुनमा १ सय ३५ मिलिलिटर र मनसुनमा २ सय ३४ मिलिलिटर छ । यो वर्षको जुन १७ सम्म मात्रै ४ सय ५६ मिलिलिटर पानी परिसकेको छ । प्रि–मनसुनमा २ सय ३२ मिलिलिटर पानी परेको छ ।