![]()
People’s News : केही महिनादेखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । पन्ध्र-पन्ध्र दिनको अन्तरालमा गरिने मूल्य समायोजनमा एकाध पटक मूल्य घटाइए पनि अरू बेला बढाइएको गुनासो सर्वसाधारणहरूको छ । गत वर्ष चैत १९ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालयले पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर तोकेको थियो। त्यस बेला डीजल र मट्टितेल दुवैको प्रतिलिटर मूल्य ८५ रुपैयाँ थियो । शनिवार गरिएको पछिल्लो मूल्य वृद्धिपश्चात् अहिले काठमाण्डूमा एक लिटर पेट्रोलको मूल्य १२५ रुपैयाँ पुगेको छ । त्यस्तै डीजलको र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ कायम गरिएको छ । पेट्रोलियम कारोबार गर्ने एक मात्र निकाय नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र त्यसैअनुसार भारतमा तोकिएको मूल्य बढेकाले नेपालमा पनि मूल्य उकालो लाग्ने क्रममा रहेको जनाएको छ । प्रत्यक्ष र परोक्ष रूपमा अर्थतन्त्रमा व्यापक प्रभाव पार्ने पेट्रोलियम पदार्थको मूल्य बढ्नु राम्रो नमानिए पनि भारतीय बजारमा भन्दा धेरै सुलभ मूल्यमा कारोबार गर्दा थेग्नै नसकिनेगरी नोक्सानी बढ्ने एक अर्थशास्त्री बताउँछन् ।