![]()
People’s News : काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को विवाद निर्वाचन आयोगमा पुगेको छ । आयोगले बुधबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको पत्रको ढाँचा नमिलेको भन्दै मिलाएर पठाउन परिपत्र गरेको छ । दुवै अध्यक्षले पठाएको कारबाहीसम्बन्धी पत्र नियमावलीको अनुसूचीको ढाँचाअनुसार नमिलेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।एकले अर्कोलाई पार्टीबाट निष्कासन गरेको भन्दै मंगलबार दुवै पक्षले आयोगलाई पत्राचार गरेका थिए । सुरुमा यादवले अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निस्कासन गरिएको जानकारी आयोगलाई गराएका थिए । त्यसलगतै ठाकुरले यादवलाई पार्टीबाट निस्कासन गरिएको पत्र पठाएका थिए । आयोगलाई पठाएको दुवैका पत्रमा राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दलको दर्ताबाट नाम हटाई अध्यावधिक गर्न अनुरोध गरिएको थियो । आयोगका प्रवक्ता श्रेष्ठले ठाकुर र यादव दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा कागजात पेस गर्न पत्र पठाइएको जानकारी दिए । उनका अनुसार कुनै राजनीतिक दलको विवरण हेरफेर गर्नुपर्ने भए अनुसूची १८ बमोजिमको ढाँचाअनुसार निर्वाचन आयोगमा लेखिपठाउनुपर्ने व्यवस्था छ । ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी बैठकको हस्ताक्षरसहितको निर्णयको प्रतिलिपि पठाउन भनिएको उनले बताए ।
जसपा एकीकरण भएको वर्षमा विभाजनको अवस्थामा पुगेको हो । ठाकुरले नेतृत्व गरेको राष्टिय जनता पाटी (राजपा) र समाजवादी पार्टीबीच गत वर्ष मात्रै एकीकरण भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएपछि दुवै दल मिलेका थिए । एकीकरण हुँदाको अवस्थामा कार्यकारिणी समितिमा ठाकुर पक्ष हाबी थियो । तर, नेता महेन्द्रराय यादव अर्कातिर लागेपछि केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ । भने विघटित सांसदमा ठाकुर पक्षको बहुमत छ । कार्यकारिणी समिति ५१ सदस्यीय छ । विघटित प्रतिनिधिसभामा ३४ सांसद थिए । जसमा रेशमलाल चौधरी र हरिनारायण रौनियार निलम्बीत छन् । ओली नेतृत्वको सरकारप्रतिको दृष्टिकोणका कारण जसपा विभाजनको अवस्थामा पुगेको हो । ठाकुर पक्ष आफना माग, मुद्दा सम्बोधन भइरहेकोले ओली सरकारको पक्षमा छ भने यादव पक्ष ओलीलाई प्रतिगमनको नायक भन्दै आएको छ ।