![]()
People’s News : मृत्यु भएका अधिकांश संक्रमित लक्षण देखिँदा देखिँदै पनि ढिलो गरी स्वास्थ्यकर्मी तथा अस्पतालको सम्पर्कमा पुग्नेहरू छन् । समयमै उपचार पाएका कोरोना भाइरस संक्रमितहरू जुनसुकै प्रकारका निमोनिया भएका के जेष्ठनागरिक के दीर्घरोगी अधिकांश निको भइरहेका छन् । सास फेर्न गाह्रो भए, ज्वरो सय डिग्री बढी भइरहे, अक्सिजनको मात्रा ९२ प्रतिशतभन्दा कम भए वा धेरै तलमाथि भइरहे तुरुन्त चिकित्सकीय सल्लाह जरुरत पर्दछ । आज पनि संक्रमितमध्ये ८० प्रतिशत बढीमा सामान्य लक्षण छ र घरमै उपचार सम्भव छ । १५ प्रतिशत मध्यमस्तरका छन् र अस्पताल आवश्यक पर्छ । पाँच प्रतिशतलाई आईसीयुमा भर्ना गर्ने खालका देखिएका छन् । सामान्य समस्या भएकाहरू अनावश्यक औषधि र उपचार प्रक्रियामा नअल्झी स्वास्थ्यकर्मीको सल्लाहबमोजिम घरमै प्रशस्त तातो झोलिलो खाना खाए राम्रो निद्रा र तनावरहित अवस्थामा बसे निको हुन्छन् ।
निको हुन सामान्य निमोनिया भएकाले घरमै चिकित्सकीय सहयोग पाए पाँचदेखि सात दिन, मध्यमस्तरको निमोनिया भए ८ देखि १० दिन र गम्भीर निमोनिया भएकामध्ये ६० प्रतिशतमा १० देखि १२ दिनमा तथा अन्य ४० प्रतिशतलाई तीनदेखि पाँच साता लाग्दछ । भेन्टिलेटर नचाहिने गम्भीर निमोनिया भएकामध्ये ८० प्रतिशत र भेन्टिलेटरमा रहेका २० प्रतिशतसम्म निको भइरहेका छन्। बिरामीको उमेर नहेरी लक्षण हेर्दै छातीको एक्सरे रिर्पाेटमा दाग देखिए उपचार प्रक्रिया सुरु गर्नुपर्छ। ढिलो अस्पताल जाने तथा घरमै अक्सिजन लिनेहरूमा जटिलता र मृत्यु छ। अन्तमा, स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा भर्ना गर्न नसकिने सरकारले जनायो। सरकारले हात उठाउनु जति गैरजिम्मेवारी थियो। त्यत्ति नै आपत्तिजनक थियोे। जोगिने आफैं हो भन्दाभन्दै संक्रमित भइहाले सरकार छ भन्ने ढाडसको जरुरी छ, संकटका बेला सरकारले दायित्वप्रति पीठ फर्काउन मिल्दैन। जतिसुकै अँध्यारोका बीचमा पनि उज्यालो देखाउनु पर्छ ।