![]()
People’s News : नेपालमा गत २४ घण्टामा थप थप ८,४१८ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ । हालैका दिनहरूमा सङ्क्रमण सङ्ख्या घटेको यो पहिलो पटक हो । शुक्रवार ९,१९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार सो अवधिमा थप ५३ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ । हालसम्म कुल ३,६३२ जनाको मृत्यु भइसकेको छ । यो अवधिमा ३,३७० जना सङ्क्रमणमुक्त भएका छन् । काठमाण्डौ उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला पर्ने क्रम जारी छ । रूपन्देहीमा पनि ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । सरकारको तथ्याङ्कअनुसार शनिवार अपराह्णसम्म देशभरि ८३,४९३ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन् । तीमध्ये ५,४७५ जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ । अस्पतालमा रहेकामध्ये ७५८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् । कुल १८,३०४ जनाको पीसीआर र एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन् । मन्त्रालयका अनुसार शनिवार काठमाण्डौ जिल्लामा २,२७० जना, ललितपुर जिल्लामा ४६२ र भक्तपुरमा ३८१ जनामा कोभिड पुष्टि भएको हो । त्यसैगरी झापामा २७६, मोरङमा २५४, कास्कीमा २८५, दाङमा ३६६, बाँकेमा ५५५, रूपन्देहीमा ८६१ र सुर्खेतमा ५९७ जनामा पनि सङ्क्रमण पुष्टि भयो ।
२७ सांसद सङ्क्रमित : गत बुधवार र बिहीवार सांसदहरूसहित १,२३५ जनाको संसद् भवन नयाँ बानेश्वरमा गरिएको परीक्षणमा १६० जनामा सङ्क्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार २०५ जना सांसदको परीक्षण गरिएकोमा प्रतिनिधिसभाका १८ र राष्ट्रिय सभाका एक जना गरी १९ जना सांसदमा सङ्क्रमण पुष्टि भएको हो । दुई मन्त्रीसहित आठ सांसद यसअघि नै सङ्क्रमण पुष्टि भई आइसोलेशनमा रहेका छन् । बाँकी १,०३० जना सङ्घीय संसद् सचिवालयका कर्मचारी, मर्यादा पालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र संसद् भवनका कर्मचारीको परीक्षण गरिएको थियो ।
२२ जिल्लामा ५०० भन्दा बढी : हाल २२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । वाग्मती प्रदेशका आठ, लुम्बिनी प्रदेशमा छ, प्रदेश नं १ का तीन र अन्य चार प्रदेशका एक-एक जिल्लामा अहिले उच्च सङ्ख्यामा सक्रिय सङ्क्रमित रहेका हुन् । थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । शुक्रवार पुष्टि भएको सङ्क्रमितहरूमध्ये १९५ जना १० वर्षभन्दा मुनिका, ५६१ जना १० देखि १९ वर्षका र ३,९४५ जना २० देखि ३९ वर्षका छन् । त्यस्तै ४० देखि ४९ वर्षका १,५४०, ५० देखि ५९ वर्षका १,११८ र ७० वर्षभन्दा माथिका ३१२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
– काठमाण्डौमा धेरै सक्रिय सङ्क्रमित मन्त्रालयका अनुसार अहिले काठमाण्डौ उपत्यकामा तीन जिल्लामा कुल ३५,६७८ जनाभन्दा केही बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन् ।
- काठमाण्डूः २६,४२६
- भक्तपुरः ३,५४०
- ललितपुरः ५,७१२
– उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सङ्क्रमितको कुल सङ्ख्याको ४२.७ प्रतिशत हो । छोटो समयमा धेरै शव व्यवस्थापन निकै चुनौतीपूर्ण’: नेपाली सेना राजधानी उपत्यकामा अहिलेसम्म १,२२३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्क छ ।
- काठमाण्डूः ८२०
- भक्तपुरः १७२
- ललितपुरः २३१
यो देशभरि कोभिड-१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्याको एकतिहाइ हो ।
कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने ? : कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ –
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
- एम्बुलेन्स सेवाको लागि १०२ यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ ।