कोरोना भाइरस : भारतीय नयाँ भेरिअन्ट खतरनाक, खोपले गरेन काम ?

Loading

People’s News : भारतमा पहिचान भएको कोरोनाभाइरसको एउटा भेरिअन्टबारे विश्वभर वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् । तर यो कति सङ्क्रामक छ वा भारतमा घातक दोस्रो लहर देखा पर्नुमा यो कारक हो कि होइन भन्ने थाहा भइसकेको छैन । भारतीय भेरिअन्टलाई आधिकारिक रूपमा बी.१.६१७ भनिएको छ। त्यो अक्टोबरमा पहिलो पटक फेला परेको हो ।

कति फैलियो  ? : उक्त भेरिअन्ट कति छिटो र कतिसम्म फैलिएको छ भन्ने पत्ता लगाउन भारतभर यथेष्ट मात्रामा नमुना परीक्षण भएको छैन । महाराष्ट्रमा ज्यनुअरीदेखि मार्च महिनाबीचमा सङ्कलन गरिएका ३६१ वटा नमुनामध्ये २२० वटामा यो भेरिअन्ट भेटिएको थियो । जीआईएसएआईडीको विश्वव्यापी आँकडा अनुसार अहिले यो २१ वटा देशमा भेटिएको छ ।अन्तर्राष्ट्रिय यात्रुले पुर्‍याएको देखिएको उक्त भेरिअन्ट ब्रिटेनमा फेब्रुअरी २२ यता १०३ जनामा देखिएको छ । यसकै कारण ब्रिटेनले भारतलाई जोखिमयुक्त मुलुकको सूचीमा राख्दै जाने शुक्रवारदेखि यात्रा प्रतिबन्ध लगाएको छ । भारतबाट ब्रिटेन यात्रा अब यूकेका नागरिक र त्यहाँ बसोबास अनुमति भएकाले मात्रै गर्न सक्छन् र उनीहरू पनि अनिवार्य रूपमा सरकारले स्वीकृत दिएका होटलमा क्वारन्टीनमा बस्नुपर्छ । पब्लिक हेल्थ इङ्गल्यान्डले भारतीय भेरिअन्टलाई अनुसन्धानमा रहेको गम्भीर मध्येको एउटा भेरिअन्टको सूचीमा राखेको छ ।

आत्तिनु पर्दैन : वैज्ञानिकहरूले यो भेरिअन्ट झनै सङ्क्रामक वा खोपको प्रतिरोध गर्न सक्ने हो कि होइन भन्ने थाहा पाइसकेका छैनन् । लुइजियाना स्टेट युनिभर्सिटीका भाइरोलोजिस्ट डा. जेरेमी कमिलले उक्त भेरिअन्टको एउटा म्युटेसन दक्षिण अफ्रिका र ब्रजिलमा पहिचान भएका भेरिअन्टसँग मिल्दो छ । अहिले निकै चिन्ताको विषय बनेको यूके भेरिअन्ट ब्रिटेनमै व्यापक छ र ५० वटा देशहरूमा फैलिसकेको छ । कमिल भन्छन्, “यूके भेरिअन्टभन्दा भारतीय बढी सङ्क्रामक छ भन्नेमा मलाई शङ्का छ, हामी आत्तिनु पर्दैन । वैज्ञानिकहरूले भारतीय भेरिअन्टबारेको तथ्याङ्क अपुरो रहेको रहेको बताएका छन्  । उनीहरूका अनुसार भारतमा २९८ र विश्वभरी ६५६ वटा त्यसका नमुना यूके भेरिअन्टको तीन लाख ८४ हजार नमुनाको तुलनामा निकै कम भएको उनीहरूको भनाइ छ ।

भारतमा दोस्रो लहरका नयाँ भेरिअन्ट कति जिम्मेवार ? : भारतमा एप्रिल १५ यता दैनिक सरदर दुई लाख सङ्क्रमित थपिएका छन् । जबकि गत वर्ष सङ्क्रमण उच्च रहेका बेला औसत सङ्क्रमितको सङ्ख्या ९३ हजार थियो ।

मृत्यु पनि बढिरहेको छ : भारतको उच्च जनसङ्ख्या र जनघनत्व भाइरसको म्युटेसनको निम्ति उपयुक्त हो,” क्याम्ब्रिज युनिभर्सिटीका क्लिनिकल माइक्रोबायोलोजीका प्राध्यापक रवि गुप्ता भन्छन् । तर भारतमा सङ्क्रमणको लहरको कारक ठूलो भेला, मास्क लगाउने र सामाजिक दुरी राख्ने जस्ता रोकथामका उपायको बेवास्ता हुनसक्ने उनको धारणा छ । वेलकम सङ्गर इन्स्टिट्यूटका डा. जेफ्री ब्यारेटले नयाँ भेरिअन्ट सम्भावित कारण र प्रभाव हुनसक्ने बताउँदै तर अझैँ पनि प्रमाणको अभाव रहेको उल्लेख गरे । उनले भारतीय भेरिअन्ट करिब गत वर्षको अन्त्यतिरबाट रहेको औँल्याए । यदि त्यसले भारतमा नयाँ लहर निम्त्याइरहेको हो भने यो विन्दुमा पुग्न कैयौँ महिना लाग्यो। त्यसले यो सम्भवतः यूके बी ११७ भेरिअन्टभन्दा कम सङ्क्रामक रहेको देखाउँछ,” उनले भने ।

खोपले काम गर्छ ? : वर्तमान खोपहरू गम्भीर अवस्थामा पुग्न नदिने कुरा नयाँ भेरिअन्टहरूमा पनि लागु हुने विश्वास वैज्ञानिकहरूको छ । नेचर पत्रिकामा प्रकाशित प्राध्यापक गुप्ता र उनका सहकर्मी अनुसन्धानकर्ताहरूको आलेख अनुसार केही भेरिअन्टले वर्तमान खोपहरूलाई छल्न सक्छन् त्यसको निम्ति खोपलाई थप प्रभावकारी बनाउन तिनमा परिमार्जन गर्नुपर्ने खाँचो पर्छ । तर अहिले उपलब्ध खोपले अझैँ पनि रोगको विस्तारको गतिलाई सुस्त गराउन सक्छन् । धेरै मानिसहरूको निम्ति अहिलेका खोपहरूको प्रभाव थोरैदेखि रोगमुक्त गर्नेसम्म अनि मृत्युको जोखिमबाट बचाउँदै अस्पतालबाट घर फर्काउनेसम्म फरक-फरक हुनसक्छ,” डा. कमिल भन्छन् । कृपया तपाईँलाई दिन लागिएको खोप पहिले लिइहाल्नूस, सङ्कोच मान्ने र उत्कृष्ट खोपको निम्ति पर्खिने गल्ती नगर्नूस् । L

Leave a Comment