सङ्क्रमितको सङ्ख्या बढेसंगै अक्सिजनको अभाव

Loading

 People’s News : भारतमा कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि मेडिकल अक्सिजनको ठूलो अभाव हुन थालेको खबरमाझ नेपालमा अहिले अक्सिजनको अभाव नहुने सरकार तथा व्यवसायीले बताएका छन् । धेरैजसो ठूला अस्पतालमा अक्सिजन प्लान्ट रहेको र उद्योगहरूले पनि अक्सिजन उत्पादन गर्दा अक्सिजनको अभाव हुने अवस्था अहिले नरहेको उनीहरूको दाबी छ । सङ्क्रमितको सङ्ख्या र अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि बिहीवार स्वास्थ्य मन्त्रालयले अक्सिजनको उपलब्धताबारे व्यवसायीहरूसँग छलफल गरेको सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । अधिकारी भन्छन्, “अहिलेको अवस्थामा समस्या छैन। र, सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि धान्न सक्छौँ भन्ने छ । तर मानिसहरूले अनावश्यक जोहो गर्न थाले, चुहावट हुन थाल्यो र अक्सिजन भारत जान थाल्यो भने समस्या देखिन सक्छ ।

नेपालमा अक्सिजन आपूर्तिको अवस्था कस्तो छ ? : महामारीबाट गम्भीर रूपमा प्रभावित भारतको राजधानीलगायतका कतिपय राज्यमा अक्सिजनको चरम अभाव भएको खबरहरू आइरहेका छन् । त्यहाँ सङ्क्रमितको सङ्ख्या बढ्दा त्यसको प्रभाव नेपालमा पनि देखिएको र नेपालमा पनि उपचारका क्रममा बिरामीले अक्सिजन नपाउने हुन् कि भन्ने चिन्ता बढेको देखिन्छ । यस्तो चिन्तामाझ बजारमा मेडिकल अक्सिजनको माग बढेको व्यवसायीहरू बताउँछन् । अक्सिजन उद्योगी शिवप्रसाद घिमिरेले भने, “भारतमा अभाव छ भनेपछि यहाँ दबाव बढेको छ। तर हामी आत्तिनुपर्ने अवस्था छैन । उनका अनुसार कतिपय अस्पतालले माग नभएका कारण खर्चिलो अक्सिजन प्लान्ट चलाएका थिएनन् भने सिलिन्डरमा उपलब्ध गराउने उद्योगहरू पनि करिब ४० प्रतिशत सञ्चालनमा थिएनन् । अस्पतालले पनि अक्सिजन प्लान्ट चलाउने र उद्योगहरू पनि पूर्ण रूपमा सञ्चालनमा आएपछि अक्सिजनको अभाव हुँदैन,” उनले भने । यहाँ अक्सिजन नपाएर कोभिडका बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था छैन ।

भारतमा माग बढ्दा कस्तो असर ? : भारतमा अक्सिजनको अभाव भएर कतिपय अस्पतालहरूले बिरामीलाई सेवा दिन नसकेका खबरहरू आएका छन् । सीमावर्ती क्षेत्रमा बिरामीलाई अक्सिजन दिने उपकरण र त्यससँग सम्बन्धित सामानहरू केही व्यवसायीले धेरै मात्रामा किनिरहेको खबर आएको रसायन तथा मेडिकल आपूर्ति सङ्घका अध्यक्ष सुरेश घिमिरेले बताए । खुल्ला सीमा भएका कारण कताकताबाट भारत जान्छ र कति सङ्ख्यामा गइरहेको छ भन्ने यकिन छैन तर त्यसलाई रोक्न हामीले व्यवसायीलाई पहल गरेका छौँ,” उनले भने । नेपालका अस्पतालहरूमा रहेका अक्सिजन प्लान्टबाहेक दैनिक सात हजार सिलिन्डर ग्यास भर्न सक्ने अवस्था रहेको जानकारी व्यवसायीहरूबाट आएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताए । विगतमा भन्दा यसपटक परीक्षण गराउनेमध्ये धेरै सङ्क्रमण देखिने गरेकोले अवस्था गम्भीर हुनसक्ने उनी बताउँछन् । लक्षण देखिएपछि र अलि समस्या भएपछि मात्रै परीक्षण गर्ने गरेकोले हो कि यसपटक सङ्क्रमित बिरामीमध्ये सबैजसोलाई अक्सिजन दिनुपरेको छ,” अधिकारीले भने । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या जेठमा उच्च विन्दुमा पुग्ने अनुमान गरिएको छ । सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालमा सघन उपचारका लागि पूर्वाधार अभाव देखिन थालेको चिकित्सकहरूले बताउन थालेका छन् । L

Leave a Comment