स्कुल कलेजका बालबालिकामा कोरोना प्रभाव उच्च रहेको स्वास्थ्य बिज्ञहरुको ठहर

Loading

People’s News Kathmandu : केही सातायता नेपालमा पनि कोरोनाभाइरस महामारीको दोस्रो लहरको खतरा टड्कारो देखा परेको छ । प्रत्येक दिन पुष्टि भएका सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ।

विगत २४ घण्टाको अवधिमा ३३२ सङ्क्रमित फेला परेको जानकारी सरकारले बिहीवार अपराह्ण दिएको छ। बुधवार कुल २९८ जनामा कोभिड पुष्टि भएको थियो । सङ्क्रमणको सङ्ख्या बढ्नुको एउटा कारण चाँडै सर्ने “यूके भेरिअन्ट” भनिने सार्स-कोभ-२ को नयाँ प्रकार भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताएका छन् । विगत केही हप्तामा यूके भेरिअन्टसँग मिल्दोजुल्दो प्रकारको भाइरस भेटिन थालेको छ । भारतबाट फर्किनेहरूमा एन्टिजन परीक्षण गर्दा पोजिटिभ पाइएकाहरूमध्ये नमुना परीक्षण गर्दा पनि यो भेरिअन्टसँग मिल्दोजुल्दो प्रकार भेटिएको छ,” उनले भने । यसले छिटो सङ्क्रमण फैलिन्छ अनि कम उमेरका व्यक्तिहरूमा पनि बढी जटिलता हुन सक्ने, अस्पताल भर्ना हुनुपर्ने तथा सघन उपचार आवश्यक पर्न सक्ने दर बढी हुने देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेका परीक्षणमा गत छ सातायता उक्त प्रवृत्ति बढेको देखिएको उनले बताए । नयाँ प्रकारको कोरोनाभाइरस फैलिरहेकाले फेरि सर्वसाधारण मानिसहरू सजग हुनुपर्ने विज्ञहरूले बताएका छन् । नयाँ प्रकारको कोरोनाभाइरसका फैलिँदा सर्वसाधारणमा मानिसको मनमा केही प्रश्नहरू उत्पन्न भएका छन्। विज्ञहरूको सहायतामा तिनको उत्तर खोज्ने प्रयास यहाँ गरिएको छ ।

पुन: सङ्क्रमणको सम्भावना कति ? नेपालमा अहिलेसम्म पौने तीन लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन् । एकचोटि सङ्क्रमण भएपछि केही समयसम्म अर्को सङ्क्रमण नहुने बताइँदै आएको छ । तर नयाँ प्रकारको भाइरस फैलियो भने चाहिँ के होला भन्ने प्रश्नको उत्तर सजिलो छैन । पहिले सङ्क्रमित भएकालाई नयाँ भेरिअन्टले पुन: सङ्क्रमण गर्ला कि नगर्ला भन्नेबारे स्पष्ट तथ्याङ्क उपलब्ध नभएको जनस्वास्थ्यका जानकार तथा अनुसन्धानकर्ता डा. समीरमणि दीक्षितले बताए । यो प्रश्नको उत्तर दिनका निम्ति पहिले देशमा के कति प्रकारका भाइरसहरू फैलिरहेका छन् भनेर जान्न जरुरी हुने सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन्  । जुन हिसाबले यहाँ सङ्क्रमण उकालो लागेको छ पक्कै पनि अन्य भेरिअन्टहरू आएकैले यसो भएको हुनुपर्छ । तर कति खालका भेरिअन्ट आएका छन् भन्ने हामीलाई थाहा छैन । खालि यूके भेरिअन्ट मात्रै हो भने एक पटक कोभिड भएको छ-सात महिनासम्म फेरि सङ्क्रमण हुने सम्भावना एकदमै कम हुन्छ,” उनले भने । 

खोपले काम गर्छ ? नेपालले हालसम्म झन्डै छ प्रतिशत जनसङ्ख्यालाई अक्सफर्ड आस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइसकेको छ भने यसै सातादेखि चीनले उपलब्ध गराएको खोप पनि लगाउन थालेको छ । चिनियाँ खोपबारे धेरै जानकारी प्राप्त नभए पनि आस्ट्राजेनेका खोपबारे हालसम्म यूके, अमेरिका तथा युरोपबाट प्राप्त जानकारीले यूके भेरिअन्टमा पनि यसले काम गर्ने जनाइएको छ । नयाँ भेरिअन्टमा यसले काम गर्दैन भन्ने चाहिँ देखिएको छैन । आस्ट्राजेनेका कम्पनीले पनि उसको खोप यसमा काम गर्छ भनेको छ, डा. दीक्षितले बताए । डा. सुवेदीका अनुसार पनि यूके भेरिअन्ट मात्रैको हकमा खोपले काम गर्ने तर अन्य दक्षिण अफ्रिकी वा ब्रजिल भेरिअन्ट वा भारतकै अन्य उत्परिवर्तित भाइरस फैलिएको हो भने ठ्याक्कै भन्न गाह्रो हुन्छ । अहिले नेपालमा केवल एक मात्रा खोप मात्रै दिइएको छ । एक मात्रा मात्रै खोप लिएकोहरूलाई रोग सर्ने जोखिम ६५-७० प्रतिशत कम हुन्छ भनिएको छ, तर त्यो केवल तीन महिनाका लागि मात्र हुनसक्ने ठानिन्छ । तीन महिनापछि के हुन्छ भन्ने तथ्याङ्क हामीसँग छैन,” डा. सुवेदीले बताए ।

परीक्षण कहाँ गर्ने ? : कोरोनाभाइरसको कुन प्रकार हो भनेर निर्क्योल गर्न जीन सीक्वन्सिङ । त्यो विधि जटिल र महँगो हुन्छ । यस किसिमको विस्तृत परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लागि आवश्यक उपकरण तथा रसायन हालै नेपाल ल्याइसकिएको बताइएको छ । यूके भेरिअन्ट हो कि भनेर सङ्केत दिन अहिलेकै पीसीआरको विशेषीकृत प्रणालीबाट नमुनामा एस जीन नभएको पाइएमा त्यसमा उक्त भेरिअन्ट हुन सक्ने बलियो आधार ठान्ने गरिन्छ । यस्ता परीक्षण सीमित ठाउँमा मात्र उपलब्ध हुन्छन् । तर के सर्वसाधारण मानिसले कोरोनाभाइरसको प्रकार जान्न आवश्यक हुन्छ त ? विज्ञहरूका अनुसार कुन प्रकारको भाइरस फैलिएको छ भनेर जान्न विशेषगरी सरकार तथा नीतिनिर्माताहरूलाई जरुरी हुन्छ । जनस्वास्थ्यको योजना बनाउन, तदनुरूप तयारी गर्न अनि कुन खोप लगाउने भनेर निर्णय गर्न समुदायको कस्तो प्रकारको भाइरस फैलिएको छ भनेर व्यापक रूपमा अनुगमन भइरहनुपर्ने उनीहरूको सुझाव छ । व्यक्तिगत हकमा कुन प्रकारको भाइरस भनेर जान्न उति जरुरी नभए पनि नीतिनिर्माणको निम्ति यो एकदमै जरुरी हुन्छ । साथै स्पष्ट नतिजाका निम्ति पूर्ण जीन सीक्वन्सिङनै गरिनुपर्छ, डा. दीक्षितले बताए । उपचार तथा निदानका निम्ति पनि प्रकारबारे जान्न आवश्यक पर्ने डा. सुवेदी बताउँछन् । पहिले सङ्क्रमित भएकालाई पनि फेरि देखिए नयाँ भेरिअन्ट हो कि भनेर जाँच्नुपर्ने हुनसक्छ । ती बिरामीलाई फरक तरिकाले उपचार गर्नुपर्ने हुनसक्छ। कस्तो प्रकारको फैलिएको छ भन्ने थाहा हुन सके त्यसले कति विकराल रूप लेला भनेर पनि अनुमान गर्न सकिन्छ,” उनले भने । 

कसरी जोगिने ? : जुनसुकै प्रकारको भए पनि जोगिने उपाय एकै किसिमको भएको विज्ञहरूले बताएका छन् । दूरी कायम गर्ने, मास्क लगाउने, हातको सरसफाइमा ध्यान दिने, भिडभाडमा नजाने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गरे जुनसुकै प्रकारको कोरोनाभाइरसबाट पनि जोगिन सकिने उनीहरूले सुझाएका छन् । थप सुझाव के हो भने नयाँ भेरिअन्ट झनै धेरै सङ्क्रामक भएकाले हामीले यी मापदण्ड दुईगुना गम्भीरताका साथ पालना गर्नुपर्छ,” डा. सुवेदीले बताए । खोपको व्यापक उपलब्धता निकट भविष्यमै हुने कमै सम्भावना भएकाले पनि यी मापदण्ड नेपालका निम्ति अझ महत्त्वपूर्ण भएको विज्ञहरू बताउँछन् । 

बालबालिकामा कति जोखिम ? : नयाँ भेरिअन्ट फैलिएको हुन सक्ने विवरणका माझ सरकारी अधिकारीहरूले कम उमेरका मानिसहरूलाई पनि सङ्क्रमण धेरै हुन थालेको बताएका छन् । डा. दीक्षितका अनुसार छिटो सर्ने हुनाले धेरै जनामा सङ्क्रमण फैलिँदा स्वाभाविक रूपले धेरै सङ्ख्यामा बालबालिकाहरूलाई सरेको हुनसक्छ । साथै पोहोरजस्तो लकडाउन तथा स्कूल बन्द नभएकाले धेरै बालबालिका यसै पनि सङ्क्रमणको बढी जोखिममा परेको हुनसक्ने डा. सुवेदीले बताए ।  म कार्यरत अस्पतालमा पनि २०/२१ वर्षका बिरामीहरू आएका छन् । तर त्यतिको भरमा देशभरिको स्थिति भन्न कठिन छ, उनले भने । यूके भेरिअन्टको हकमा छिटो सर्ने भएपनि त्यो पुरानो कोरोनाभाइरसभन्दा ज्यादा घातक भएका तथ्याङ्क नआएको डा. दीक्षितले बताए ।

Leave a Comment