एमाले नेपाल–खनाल समूहले शनिबार संगठन विस्तार अभियान घोषणा

Loading

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका स्थायी कमिटीका सदस्यको छलफलले शनिबार संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबारको छलफलमा प्रस्ताव भएको र शनिबार संगठन निर्माण र प्रशिक्षणको अभियान घोषणा हुने नेता योगेश भट्टराईले जानकारी दिए । ‘आजको छलफलमा केही कार्यक्रम प्रस्ताव भएको छ’, भट्टराईले भने, ‘भोलिको छलफलले राष्ट्रव्यापी संगठन निर्माण, प्रशिक्षण र अभियानको ढाँचालाई अन्तिम रुप दिन्छौं र पार्टीका तहमा वितरण गर्छौँ । भट्टराईका अनुसार चैत ४ र ५ गते काठमाडौंमा भएको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्तामाझ लाने निर्णयसमेत स्थायी कमिटी सदस्यको छलफलले गरेको छ । राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामाथि विभिन्न १० टोलीबाट आएका सुझावलाई समेटेर तयार भएको प्रतिवेदनमाथिसमेत शुक्रबार छलफल भएको भट्टराईले बताए। शनिबार हुने छलफलपछि प्रतिवेदनलाई प्रकाशन गरेर वितरण गर्ने उनको भनाइ छ । नेपाल समूहको छलफलले पार्टीका महासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको कारबाही पूर्वाग्राही भएको निष्कर्ष निकालेको छ। बैठकले यसको चर्को विरोध गरेको छ । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाको कार्यान्वयन पार्टी अध्यक्ष केपी ओलीबाट नभएको भन्दै त्यसलाई कार्यान्वयन गर्दै पार्टी एकताको रक्षाका लागि आह्वान गर्ने निर्णय भएको उनले बताए ।

Link

Leave a Comment