![]()
People’s News : तानसेन : गर्मी महिनासँगै पाल्पामा दिनहुँ आगलागीका घटनाहरु बढेका छन्। पाल्पामा ६४ वटा सामुदायिक जंगलमा आगलागी भएको छ। आगलागी बाट ६४ वटा सामुदायिक वनको १ हजार ५ सय १० हेक्टर जमिनको घाँसपात दाउरा काठपात जलेर नष्ट भएको छ। दिनहुँ बढ्दो गर्मीसँगै लामो सयमदेखि पानी नपरेकोले आगलागीका घटना बढ्दै गएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ। दैनिक दुईदेखि तीन सय हेक्टर जमिनमा आगलागी हुँदै आएको डिभिजन प्रमुख डा. मोहन पौडेलले बताए। आगलागीबाट क्षतिको विवरण संकलन भइरहेको डिभिजन प्रमुख पौडेलले बताए । पाल्पाको १० वटा पालिकामध्ये सबैभन्दा बढी आगलागी रिब्दिकोट गाउँपालिका भित्र रहेको छ। जसमा ४ वटा सामुदायिक वनको ५ सय २९ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ। तानसेन नगरपालिका भित्र १६ वटा सामुदायिक वनको १ सय ८८ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ। तिनाउँ गाउँपालिकाको १३ वटा सामुदायिक वनको १ सय ९५ हेक्टर जमिनमा आगलागी भएको छ।

यसैगरी माथाँगढी गाउँपालिका भित्र ९ वटा सामुदायिक वनको २ सय ६४ हेक्टर, रामपुर नगरपालिका २ वटा सामुदायिक वनमा ४ हेक्टर र निस्दी गाउँपालिकाको ४ वटा सामुदायिक वनको १७ हेक्टर जमिनमा आगलागी भएको छ । रम्भा गाउँपालिका भित्र भने हालसम्म आगलागी भएको छैन। आगलागीबाट माथागढी गाउँपालिका ४ झडेवाका ६५ वर्षीय मानबहादुर सिंजालीको जंगलमा आगो निभाउने क्रममा केही दिनअघि मृत्यु भएको छ। सयौं पशु चौपायहरु जलेका छन्। आगलागीका घटना दिनहुँ बढ्दै गएपछि पाल्पाकै ४ वटै सुरक्षा निकाय उच्च सर्तकतामा खटिएका छन् । जंगलमा लागेको आगो घरबस्तीमा नफैलियोस् भनी सबै किसिमका तयारीहरु गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलले बताए। ५ वर्षपछि पाल्पामा सबैभन्दा ठूलो आगलागी भएको कार्यालयका सूचना अधिकारी पोखरेलले बताए। आगलागीका घटनामा सहभागीहरुको खोजविन भइरहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । गतवर्ष निरन्तर पानी परेको, यो समयमा लकडाउन भएकोले अधिकांश मानिसहरु घर घरमा बसेको कारण पाल्पामा कुनै पनि आगलागीका घटना नभएको सूचना अधिकारी पोखरेलले बताए। पाल्पामा तानसेन नगरपालिकाको मात्र एक दमकल रहेको छ। आगलागीका घटना बढेपछि दिनहुँ दमकलको प्रयोग बढेको तानसेन नगरपालिका सरसफाई शाखा प्रमुख शंकर भण्डारीले बताए । आगलागीका घटनाहरु बढ्दै गएपछि पाल्पाको आकाश तुवाँलोले ढाकेको छ। आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।