![]()
Peoples News : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका २३५ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए । महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ ।मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताए । भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो”, उनले भने, “कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।”शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिए । उनका अनुसार ती संक्रमितको उपचार पनि कोभिड–१९ का बिरामी जस्तै गरिन्छ ।नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको थियो । त्यसअघि नै बेलायतबाट नेपाल भित्रिएकामध्ये केही व्यक्तिको स्वाब संकलन गरी जिन सिक्वेन्सिङद्वारा आनुवंशिक संरचनाको अध्ययन गर्न लागिएको डा. गौतमले बताए ।