सार्क राष्ट्रमा कोरोना संक्रमण उच्च

Loading

People’s News/काठमाडौँ, चैत १४ गते । केही समयअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या दुई जना मात्र थियो । ती पनि निको भएर जाने तरखरमा थिए । अब अस्पतालमा बिरामी सकिए भनेर अस्पताल प्रशासनले सरसफाइको तयारी थाल्यो । तर यो हप्ता सुरु हुनासाथ अर्को दुईजना बिरामी थपिए । फेरि अर्को दुई जना गर्दागर्दै अहिले नौ जना कोरोनाका बिरामी आइपुगे । अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले भन्नुभयो, अस्पताल पूरै सफा गरेर अन्य बिरामीका लागि खुला गर्नुप¥यो भनेर ठिक्क परेका थियौँ, कोभिडकै बिरामीको चाप फेरि बढ्न थाल्यो । पछिल्लो समयमा भर्ना भएका मध्ये बागलुङबाट काठमाडौँ आएका बिरामीमा कोरोना भेटिएपछि सङ्क्रमणको अर्को लहर आउन लागेको आशङ्का भएको डा. राजभण्डारीले बताउनुभयो ।

विदेशबाट आएका व्यक्तिमा सङ्क्रमण देखिनु स्वाभाविक थियो । तर मुुलुकभित्रैबाट आएका व्यक्तिमा पनि भेटिनुले सङ्क्रमणको जोखिम बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार खोप लगाउने, नलगाउने, विदेशबाट आउने सबैले स्वास्थ्य मापदण्ड कायम गर्न पछिल्लो समय लापर्वाही गरेकाले नेपालमा फेरि सङ्क्रमण दोहोरिने सङ्केत देखिएको हो । उहाँले थप्नुभयो, “भारतका १८ वटा राज्यमा ‘डबल म्युटेसन’ कोरोना देखिइसकेको छ, युरोपेली मुलुकमा तेस्रो लहर सुरु भइसकेको छ, यस्तो अवस्थामा सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कडाइ गर्नु जरुरी छ ।” युरोपेली मुलुकमा देखिएको तेस्रो लहर विगतको भन्दा जटिल देखिएको चिकित्सकको भनाइ छ । यसले ती देशमा मृत्युदर पनि बढाइरहेको छ । ती मुलुकबाट नेपालसहित दक्षिण एसियाली मुलुकमा आवतजावत गर्ने यात्रुले तेस्रो लहरको कडा सङ्क्रमण ओसारिरहेको अनुमान उहाँले गर्नुभयो । पछिल्लो समय खुला रूपमा सभा, सम्मेलन गर्ने, विभिन्न कार्यक्रम सञ्चालन गर्ने, सार्वजनिक रूपमा भेला हुने क्रम बढेर पनि समस्या आएको कतिपयका भनाइ छ । त्यसले पनि बाहिरबाट कुनै घरमा छिरेको कोभिड सङ्क्रमणलाई फैलाउन मद्दत गरिरहेको डा. राजभण्डारीले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्कअनुसार दक्षिण एसियाली मुलुकमा घट्दै गएको कोरोना सङ्क्रमण एक महिनायता उकालो लाग्न थालेको छ । फागुन मध्यताका नेपालमा सक्रिय केस ०.३ प्रतिशतमा झरेको थियो भने भारतमा १.४ प्रतिशत, भुटानमा ०.५, बङ्गलादेशमा ७.७, अफगानिस्तानमा ७.१, माल्दिभ्समा १२.७, पाकिस्तानमा ३०.८ र श्रीलङ्कामा ४.७ प्रतिशत सक्रिय केस थिए । चैत लग्दासम्म नेपालका सक्रिय ‘केस’को अवस्था उस्तै रहे पनि भुटान, भारत, श्रीलङ्का र पाकिस्तान लगायतका देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको थियो । निको हुने दर बढेर ९९ प्रतिशतसम्म पुगेको थियो । कोरोना निको हुन दर बढ्दै गएको थियो तर चैतको पहिलो सातादेखि भने सार्क मुलुकको सङ्क्रमण दर बढ्न थालेको छ । चैत १० गते मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्कअनुसार नेपालका सङ्क्रमितको दर बढेर ०.४ प्रतिशत पुगेको छ । भारतको तीन प्रतिशत, बङ्गलादेशको सात, पाकिस्तानको ४.७, श्रीलङ्काको ३.२, माल्दिभ्सको १०.८ र अफगानिस्ताको ७.१ प्रतिशत सक्रिय केस रहेको थियो । भुटानमा मात्र हाल सक्रिय केस शून्यको अवस्थामा छ । त्यहाँ एक साताअघि ०.१ प्रतिशत सक्रिय केस थियो । मृत्युदरको अवस्था भने ०.१ कै अवस्थामा कायम छ । जुन नेपालको हकमा १.१ प्रतिशत हाराहारी रहेको छ ।

नेपालमा थपिँदै सङ्क्रमित केही दिनअघिसम्म दैनिक ५० जना जतिमा देखिने कोरोना सङ्क्रमण अहिले डेढ सय जनाको हाराहारीमा देखिन थालेको छ । बुधबार १८७ जनामा देखिएको सङ्क्रमण बिहीबार १४५ जनामा देखिएको थियो । शुक्रबार थप १५६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको   छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ५५, भक्तपुरमा दुई र ललितपुरमा नौ जना गरी उपत्यकामा ६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर चार हजार ४१६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । शुक्रबार नै थप चार जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार २४ पुगेको छ ।आजको गोरखापत्रबाट लिइएको 

Leave a Comment