जो बाइडनले हत्यारा भनी आलोचना गरेपछि रुसी राष्ट्रपतिले के दिए जबाफ

Loading

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी जो बाइडनको टिप्पणीको प्रत्युत्तर दिएका छन् : रुसी टेलिभिजनमा बोल्दै पुटिनले आफूसँग खुला रूपमा कुरा गर्न चेतावनी दिँदै “त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्छ” भनेका छन्। अमेरिकी राष्ट्रपतिले पुटिनलाई आफूले ‘हत्यारा’ ठानेको बताएका थिए । पुटिनले आफ्ना सुरक्षा निकायहरूले विपक्षी नेता एलेस्की नभाल्नीलाई मार्ने प्रयास गरेको भन्ने आरोपलाई अस्वीकार गरेका छन् । बाइडनले एबीसी न्यूजसँगको एउटा अन्तर्वार्तामा सन् २०२० को अमेरिकी निर्वाचनमा रुसले दिएको भनिएको हस्तक्षेपको पुटिनले “मूल्य तिर्नुपर्ने” बताएका थिए । त्यसपछि रुसले वाशिङ्टनमा रहेका आफ्ना राजदूतलाई अमेरिकासँगको “अपरिवर्तनीय क्षति” हुन नदिन भन्दै परामर्शका लागि फिर्ता बोलाएको थियो ।

पुटिनले अरू के भने  ? : बाइडनका आरोपहरू अस्वीकार गर्न पुटिनले विद्यालयका बालबालिकाले खेलका बेला प्रयोग गर्ने भनाइको सहारा लिए । उनले भने, “बाल्यावस्थामा हामी खेल मैदानमा बहस गर्दा भन्ने गरेको सम्झन्छु- त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्छ । अनि त्यो संयोग होइन, ठट्टा वा बालबालिकाले भन्ने कुरा मात्र पनि होइन। त्यसको गहिरो मनोवैज्ञानिक अर्थ छ। हामीले सधैँ आफ्ना लक्षण अरूमा देख्छौँ र उनीहरू आफूजस्तै ठान्छौँ । फलस्वरूप उसका कामको समीक्षा गर्दै आकलनहरू गर्छौँ । पुटिनले अमेरिकालाई अमेरिकीहरूविरुद्ध नरसंहार गरेको र दोस्रो विश्वयुद्धमा हिरोशिमा र नागासाकीमा आणविक बम खसालेर नागरिकहरूको हत्या गरेको आरोप लगाए। त्यसअघि नै पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले “त्यस्ता आरोपहरूको प्रमाण नभएको र त्यसले दुई देशबीचको सम्बन्धमा थप क्षति पुर्‍याउने” बताएका थिए ।

अमेरिकी गुप्तचर प्रतिवेदनमा के थियो ? रुसले अमेरिकी चुनावी अभियानलाई कमजोर पार्ने प्रयास गरेको निष्कर्ष निकालेको एउटा अमेरिकी गुप्तचर प्रतिवेदनबारे बाइडनले एबीसीको अन्तर्वार्तामा टिप्पणी गरेका थिए । मङ्गलवार सार्वजनिक १५ पृष्ठको उक्त प्रतिवेदनमा पुटिनले निर्वाचनमा हस्तक्षेपका लागि अनुमति दिएको जनाइएको छ । त्यससमा बाइडनलाई बदनाम गर्न र डोनल्ड ट्रम्पलाई प्रोत्साहन गर्न धेरै उपायहरू अपनाएको उल्लेख छ । ती उपायमा मतदान प्रणालीप्रतिको विश्वास कमजोर गराउने र अमेरिकामा विभाजनलाई थप चर्काउने आदि भएको जनाइएको छ । मस्कोले ती आरोपहरू अस्वीकार गरेको छ।

के पुटिन-बाइडनको यो पहिलो चर्काचर्की हो ? : दश वर्षअघि ओबामा प्रशासनमा उपराष्ट्रपति हुँदा बाइडनले अस्थायी रूपमा प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका पुटिनलाई क्रेम्लिनमा भेटेका थिए । “मैले भनेँ- प्रधानमन्त्रीज्यू मैले तपाईँको आँखामा हेरिरहेको छु, मलाई लाग्दैन तपाईँसँग आत्मा छ,” त्यसको केही वर्षपछि उनले न्यूयोर्करसँगको अन्तर्वार्तामा भनेका थिए । उनले मलाई हेरे र मुस्काउँदै भने- हामीले एकअर्कालाई बुझ्छौँ । निर्वाचनभन्दा अगाडि गत वर्ष उनले पुटिनको सोभियत गुप्तचर निकायमा रहेको अनुभवलाई सङ्केत गर्दै उनलाई “केजीबीको ठग” भनेका थिए । link

Leave a Comment