कोभिड खोप गरिब देशलाई उपलब्ध गराउन यस्तो छ योजना

Loading

द्रुत गतिमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोप वैज्ञानिक प्रगतिको क्षेत्रमा विशिष्ट उपलब्धि थियो।

तर धनी देशहरूले खोपमा नियन्त्रण गर्ने र विपन्न देशहरू पछि पर्ने चिन्ताहरू व्यक्त भएका छन् । कोभ्याक्स नाम गरेको एउटा महत्त्वाकाङ्क्षी अन्तर्राष्ट्रिय अभियानले खोपहरू धनी वा गरिब सबैलाई समान ढङ्गले वितरण गर्ने लक्ष्य लिएको छ ।

कोभ्याक्स के हो ?

एप्रिल २०२० मा घोषणा भएको कोभ्याक्स विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र खोपबारे पैरवी गर्ने दुई वटा समूहले नेतृत्व गरिरहेको विश्वव्यापी अभियान हो । यसले खोपको विकास, विक्री र १८० भन्दा बढी देशमा पहुँच पुर्‍याउने लक्ष्य लिएको छ । अहिलेको असमानतालाई चित्रण गर्दै डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले तीन करोड ९० लाख मात्राभन्दा बढी खोप उच्च आय भएका कम्तीमा ४९ देशमा दिइसकिएको बताए । उनले कम आय भएको एउटा देशमा २५ वटा मात्रै खोप दिइएको जनाएका थिए।

अहिलेसम्म कति प्रगति भएको छ ?

यो अभियानअन्तर्गत फेब्रुअरी महिनाबाट खोप वितरण गर्न थालिने अपेक्षा गरिएको छ। त्यसरी बाँडिने अधिकांश खोपको भाग गरिब र मध्यम आय भएका देशमा पुग्नेछ । कोभ्याक्सले सन् २०२१ को अन्त्यसम्ममा संसारभरि दुई अर्ब मात्रा खोप वितरण गरिसक्ने अपेक्षा राखेका छ । त्यसमध्ये एक अर्ब ३० करोड मात्रा खोप अभियानमा संलग्न रहेका ९२ गरिब देशका लगभग २० प्रतिशत जनसङ्ख्यालाई पुग्नेगरी उपलब्ध गराइनेछ । तर कोभ्याक्सले काम द्रुत गतिमा काम गर्न नसकेको भनेर आलोचना पनि भएको छ । डब्ल्यूएचओका एक बोर्ड सदस्य अस्ट्रियाका डा. क्लीमीन्स मार्टिन आवरले खोप सुनिश्चित हुनेगरी सम्झौता गर्न र देशहरूसम्म खोपको पहुँच पुर्‍याउन कोभ्याक्सले ढिला गरिरहेको बताए ।

के कोभ्याक्सले महामारी समाप्त गर्न मद्दत गर्छ ?

यदि कोभ्याक्सको लक्ष्य पूरा भयो भने पनि महामारी नियन्त्रणको लागि आवश्यक पर्ने प्रतिरोध क्षमता हासिल गर्न पर्याप्त नहुने विज्ञहरू बताउँछन् । डब्ल्यूएचओले विश्वको जनसङ्ख्याको ७० प्रतिशतले खोप लगाइसकेपछि मात्रै कोभिड-१९ रोक्ने किसिमको प्रतिरोध क्षमता बन्न सक्ने जनाएको छ । प्रत्येक वर्ष दुई अर्ब मात्रा खोपको हिसाब गर्दा विश्वको अनुमानित ७.८ अर्ब जनसङ्ख्यालाई खोप लगाउन वर्षौँ लाग्न सक्छ । तर दुई अर्ब खोपको मात्राले स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र जोखिममा रहेका अरू समुदायलाई केही सुरक्षा दिन सक्छ ।

देशहरूले कति खोप दान गरेका छन् ?

संयुक्त अधिराज्यले ७३.४ करोड अमेरिकी डलर उपलब्ध गराउने वाचा गरेको छ। रुस र संयुक्त राज्य अमेरिकाले कुनै योगदान दिएका छैनन् । यद्यपि अमेरिका नयाँ राष्ट्रपति जो बाइडेनको सरकारले उक्त अभियानमा आफू आबद्ध हुने उल्लेख गरेको छ । तर अमेरिका र अरू धनी देशलाई कोभ्याक्समा आबद्ध भए पनि आफ्ना लागि खोप थुपारेको आरोप लागेको छ । ड्यूक विश्वविद्यालयको ग्लोबल हेल्थ इन्स्टिट्यूटले गरेको अध्ययनले मध्य ज्यानुअरीसम्म गरेको अध्ययनले विश्वको जनसङ्ख्याको १६ प्रतिशत ओगट्ने धनी देशहरूको सानो समूहले विश्वव्यापी खोपको ६० प्रतिशत खरिद गरेको पाएको थियो । बाँकी विश्व त्यसमा पनि विशेषतः कमजोर आय भएका देशहरूका लागि कोरोनाभाइरसबाट उम्किने एउटै बाटो कोभ्याक्स हुन सक्छ । अहिलेसम्म कोभ्याक्सले २.४ अर्ब डलर जुटाएको छ र उसले सन् २०२१ को खोपको आफ्नो लक्ष्य पूरा गर्न कम्तीमा थप ४.६ अर्ब डलर अपर्याप्त हुने बताएको छ ।

कोभ्याक्सले कस्तो खोप सम्झौता गरेको छ ?

कोभ्याक्सले अहिलेसम्म फाइजर-बायोएन्टेक र अक्सफर्ड-एस्ट्राजेनेकासँग खोप किन्ने सम्झौता गरेको जनाएको छ । प्रयोगका लागि अनुमोदन नभइसकेका कतिपय खोपसँग पनि सम्झौता गरिएको भनिएको छ । फाइजर-बायोएन्टेकको चार करोड खोप मात्रा खरिद गर्ने सम्झौता केही समयअघि भएको थियो । डब्ल्यूएचओको नियामक निकायले उक्त खोपलाई अनुमोदन गरेसँगै त्यसलाई वितरण गर्न बाटो खुलेको छ ।

कोभ्याक्सको महत्त्व कस्तो छ ?

कोरोनाभाइरस महामारीले विश्वभरि मानिसहरूको जीवनयापन कष्टकर बनाउनुका साथै कैयौँ देशमा लकडाउन लगाउने स्थिति उत्पन्न गराइदिएको थियो । विश्वभरि कोरोनाभाइरसका कारण २१ लाख भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । विश्वको जनसङ्ख्याको बहुसङ्ख्यक भागलाई भाइरसबाट सुरक्षित नबनाएसम्म जनजीवन साधारण अवस्थामा फर्किने सम्भावना देखिँदैन । स्वास्थ्यविज्ञहरूले खोप समाधान भएको बताइरहेका छन् । साथै त्यसलाई सबै देशको पहुँचमा पुर्‍याएर महामारी नियन्त्रणका लागि समन्वय गरिनुपर्नेमा जोड दिएका छन् ।

Leave a Comment