अब अनलाईनबाटै ट्राफिक जरिवाना बुझाउन मिल्ने

Loading

Peoples News : काठमाडौं : ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना अब अनलाइनमार्फत तिर्न सकिने भएको छ। सेवाग्रहीलाई सजिलो होस् भन्ने हेतुले महानगरीय ट्राफिक महाशाखाले बुधबारबाट अनलाइन माध्यमबाटै भुक्तानी गर्न पाउने व्यवस्थाको सुरुवात गरेको हो । नयाँ सफ्टवेयर ट्राफिक भाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाबीच आबद्ध भएर सम्बन्धित बैंकको खातामार्फत जरिवाना भुक्तान गर्न सकिने जानकारी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए। यसअघि जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यता सेवाग्रहीको थियो । बुधबार अपरान्ह सेवा प्रदायक कम्पनी ई–सेवा फोन पे प्राली र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (कनेक्ट आइपीएस) का प्रतिनिधिबीच एसएसपी भट्टराईले सम्झौता गरेका थिए। ई-सेवाको तर्फबाट  प्रमुख अपरेसन अधिकृत रोशन लामिछाने र कनेक्ट आइपीएसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । आगामी दिनमा अन्य सेवा प्रदायक संस्थासँग समेत जोडिन आवश्यक समन्वय भइरहेको जानकारी भट्टराईले दिए। उनले भने, ‘यो प्रविधिबाट तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समावेश गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुनेछ । यसअघि सवारी र सवारी कागजपत्र हराएमा अनलाइनबाटै उजुरी दिन र सिफारिस लिन सकिने व्यवस्था लागू भइसकेको छ ।

Leave a Comment