![]()
काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहानैदेखि प्रदर्शन चर्काएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदोबाटो, र माधवकुमार नेपाल कोटेश्वर क्षेत्रमा सहभागी भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दुवै नेता आम हड्ताल सफल पार्न सडक बन्द गराउँदै हिँडेका हुन्। उनीहरुसँगसँगै नेकपाका नेताहरु उपत्यकासहित देशभर आमहड्ताल सफल पार्न हिँडेका छन् । बिहीबार बिहानै सातदोबाटो पुगेका प्रचण्डले संविधानको रक्षाका लागि आम हड्ताल गरेर सडक बन्द गराउँदै हिँड्नु परेको स्वीकार गरेका छन् । ‘यो प्रतिगमनविरुद्धको लडाइँ हो । जबरजस्ती लगेर संवैधानिक निकायमा नियुक्ति गरियो ।

यसले प्रतिगमनको उग्र रुप देखिएको छ’, प्रचण्डले भने, ‘नेपाली जनता केही अप्ठेरो भए पनि आन्दोलनमा लाग्छन् । बिहीबार बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ। प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमाथि आगजनी भएको हो। आगजनीबाट ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ । यसैबीच बन्द गराउन कलंकी पुगेकी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य शाक्य, हितमान शाक्य, अमृता थापा लगायतका नेता पक्राउ परेका छन् । बिहीबार बिहानैदेखि नेकपाका नेता तथा कार्यकर्ता प्रदर्शन गर्न सडकमा छन्। उपत्यका विभिन्न चोकमा नेकपाका शीर्ष नेताको नेतृत्वमा प्रदर्शन भइराखेका छन् । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपाको एउटा समूह सडकमा पुगेको छ । अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले संसद विघटनको विरोधमा सडक आन्दोलन चर्काएको हो । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि प्रचण्ड नेपाल समूहले सरकारको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको हो । l