![]()
Peoples news : काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबार निकै न्यून रहेको छ । कोभिड १९ का कारण कारोबार घटेसँगै जग्गाको मूल्य समेत स्थिर रहेको छ ।
रियल स्टेट कारोबार नेपालका प्रबन्धक प्रकाश छत्कुलीका अनुसार कोरोनाका कारण घरजग्गाको मूल्य नघटे पनि स्थिर भने रहेको छ । उनले घरजग्गा कारोबार ठप्प नभए पनि मूल्यमा भने स्थिरता छाएकाले विक्रेताहरूले बेच्न नचाहेको बताए ।
‘कारोबार नहुने नै भएको छैन, मूल्य घटेको पनि हैन तर, जग्गाको मूल्य बढ्न भने सकेको छैन,’ छत्कुलीले चाणक्य पोष्टसँग भने ‘जग्गाको मूल्य नबढेकाले घर तथा जग्गा धनीहरूले बेच्न चाहिरहेका छैनन् ।
यस्तै कोरोना कहरको यस बीचमा सस्तो जग्गा किन्न चाहानेहरूका लागि हामीले केही जानकारी ल्याएकाछौं । उपत्यका भित्र सस्तो जग्गा किन्न खोज्नेलाई यो सुवर्ण अवसरको रूपमा रहेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा केही स्थानहरूमा सस्तो जग्गा रहेको प्रबन्धक छत्कुली बताउँछन् ।
उनका अनुसार ललितपुरको बागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकामा सस्तो मूल्यमा जग्गा रहेको छ । सो स्थानमा जग्गाको मूल्य रोपनीको ४ लाख रुपैयाँदेखि रहेको छत्कुली बताउँछन् ।
उनले यी जग्गाहरू रिङरोडबाट २७/२८ किलोमिटर पर रहेको बताए । ‘उपत्यकामा भनेर घना वस्ती भएका स्थानमा छैन, तर रिङरोडबाट २७/२८ किलोमिटर पर रहेको छ, त्यहाँ घना वस्ती छैन,’ छत्कुलीले भने ‘ सडक नजिकै छैन, अब विस्तारै त्यहाँ पनि वस्तीहरू पुग्दै छ ।’
काठमाडौंमा पनि यस्ता सस्तो जमिन रहेका छन् । काठमाडौंको सुंकरापुर नगरपालिकामा जग्गाको मूल्य रोपनीको ७ लाख रुपैयाँदेखि ८ लाख रुपैयाँ रहेको उनले बताए । संकरापुरको मेलम्चीतर्फ सो जग्गा रहेको उनले बताए । यस्तै भक्तपुरमा गुण्डु क्षेत्रमा रोपनीकै ६ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँ प्रति रोपनी जग्गा रहेको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ३ महिनामा १ लाख ७० हजार घरजग्गा सम्बन्धी कारोबार भएको छ । असोज मसान्तसम्ममा कुल ५६ हजार ८३८ वटा घजग्गा किनबेच भएका छन् ।
विभागका सूचना अधिकारी विष्णुकुमार महतका अनुसार उपत्यकामा मात्रै असोजमा ६ हजार ९०८ घरजग्गा किनबेच भएको छ । चालू आर्थिक वर्षको ३ महिना (साउन–असोज) मा भूमि कारोबार मार्फत ४ अर्ब ४२ करोड ३० लाख रुपैयाँ राजश्व संकलन भएको छ । विभागको तथ्यांक अनुसार चालू आवमा २ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको छ । १ अर्ब २२ करोड २१ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको हो ।
चालू आवको पहिलो त्रैमासिकमा उपत्यका भित्र मात्र २ अर्ब ३ करोड ५ लाख रुपैयाँ राजश्व संकलन भएको छ । घरजग्गा कारोबारका क्रममा उपत्यका भित्र १ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन गरिएको छ भने कुल ६४ करोड ७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।
ललितपुरमा मात्र ४४ करोड ९ लाख रुपैयाँ राजश्व संकलन भएको छ । ललितपुर क्षेत्रमा घरजग्गा कारोबारबाट २८ करोड ७८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको थियो । १५ करोड ५६ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो ।
भक्तपुरबाट मात्र ३२ करोड ६६ लाख रुपैयाँ कुल राजश्व संकलन भएको छ । घरजग्गा कारोबारका क्रममा २० करोड २१ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको थियो भने पूँजीगत लाभकर ११ करोड ४६ लाख रुपैयाँ संकलन भएको थियो ।