![]()

Peoples News : काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला पार्टी बैठक एवं छलफल अन्योलमा परेको छ । पार्टी भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शिर्ष नेताहरु आ–आफ्नै रणनीति अनुसार अगाडी बढने प्रयासमा छन् । विवाद समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले चासो नदिएपछि विवाद पेचिलो बन्दै गईरहेको छ । प्रधानमन्त्री ओलीले अबसंगै बस्न नसकिने भन्दै छुटिन भन्ने कुरा गरेको दाहालले खुलासा गरेपछि पार्टी फुट नजिक पुगेको हो । तर पार्टीकै नेताहरुले एकतालाई जोगाउँनुपर्ने पक्षमा उभिएका छन् । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले समस्या समाधानका लागि अध्यक्षद्धय ओली र दाहाल बीचका साथै सचिवालय बैठकमा छलफल भए निकास निष्कने बताए । ‘पार्टी भित्रको छलफल्, बहश र अन्तरसंघर्षलाई ब्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार, नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं’ श्रेष्ठले भने ।
प्रधानमन्त्री ओलीले अबसंगै बस्न नसकिने भन्दै छुटिन भन्ने कुरा गरेको दाहालले खुलासा गरेपछि पार्टी फुट नजिक पुगेको हो
स्थायी र सचिवालय कमिटीको निर्णय उल्लंघन गर्दै सहमती विपरित प्रधानमन्त्री ओलीले मन्त्री, राजदुत नियुक्ति गरेपछि अध्यक्ष दाहालसंगको दुरी बढेको छ । यसका साथै कर्णाली प्रदेश विवादमा देखिएको विवाद समाधान गर्नुको सटा अध्यक्षद्धय ओली र दाहालले फरक फरक निर्देशन गर्नुले विवाद उत्कर्षमा पुगेको हो । नेकपा पर्साका नेता महेश चौरसिया हत्याकाण्ड, प्रधानमन्त्री ओली र भारतीय गुप्चर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसंगको गोप्य भेटघाटले समेत दुई अध्यक्षका बीचमा दुरी बढाउँने काम भएको नेकपा स्रोतको दावी छ । तर बालुवाटार स्रोतले प्रधानमन्त्री ओलीलाई दाहाल सहितका नेताले घेराबन्दी गर्न थालेकाले विवाद बढेको दावी गर्छ ।
अध्यक्षद्धय ओली र दाहालका बीचमा छलफल गराउँनका लागि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ सक्रिय भएका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई टेलिफोन सम्बादमा ‘वान टु वान’ छलफलका लागि प्रस्ताव गरेको नेकपा स्रोतको दावी छ । छलफल गरेर समस्या समाधान गर्नुपर्ने ओलीको प्रस्ताव रहेको छ । तर अध्यक्ष दाहालले वान टु वान छलफल नगर्ने भन्दै सचिवालय बैठक बस्नुपर्ने जवाफ फर्काएका छन् । प्रधानमन्त्री ओली अहिले तत्काल सचिवालय बैठकको आवश्यकता नै नभएको अडानमा रहेका छन् ।
अध्यक्षद्धय ओली र दाहालको टेलिफोन सम्बाद पश्चात नेम्वाङले दुबै नेताका बीचमा छलफल गराउँन पहल गरिरहेको नेकपा स्रोतले जनाएको छ । तर छलफल गर्ने वातावरण बन्न नक्साद अनेक टिप्पणी सार्वजनिक भईरहेको छ । पार्टी फुटले कसैलाई फाईदा नहुने भन्दै एकताको बिकल्प नभएको नेम्वाङले शुरु देखी नै आफ्नो अडान राख्दै आएका नेता हुन् । यसैबीच अध्यक्ष दाहालसंग खटपट भएर सहकार्य नहुने निष्कर्षमा पुगेका प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसंग सहकार्यका लागि प्रस्ताव गरेका छन् । गत ४ र ११ कात्तिकमा ओली र नेपाल बीच दुई पटक घण्टौ छलफल भएको थियो । सो छलफलका क्रममा ओलीले सहकार्यका लागि प्रस्ताव गरेका थिए ।
वरिष्ठ नेता नेपाललाई नेता प्रदिप नेपालले समेत ओलीसंग सहकार्यका लागि सुझाव दिएका छन् । अस्वस्थ रहेका नेता प्रदिपलाई भेटन माधवकुमार उनकै घर गोठाटार सोमबार साझ पुगेका थिए । एकताका घनिष्ट सम्बन्ध रहेका माधवकुमार र प्रदिपका बीचमा पछिल्लो समिकरणका बारेमा लामो छलफल भएको नेकपा स्रोतले जनाएको छ । एउटै सैद्धान्तिक पृष्ठभूमि र संघर्षबाट आएका नेताहरु मिलेर जानु नै उपयुक्त हुने सुझाव प्रदिपले दिएका छन् । विशेषगरी जनताको बहुदलीय जनवाद (जबज) का लागि पनि मिल्नुपर्ने भन्दै उनले त्यसको वातावरण बनाउने बताए । प्रदिपको सुझाव सुनेका माधव नेपालले समस्या आफूमा नरहेको जवाफ दिए । ‘एउटै पार्टीका नेताहरु किन नमिल्ने ? समस्या केपी ओलीमै छ, ओलीलाई सम्झाउँनुस्’ माधव नेपालले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो ।
गत शनिबार प्रधानमन्त्री ओलीनिकट नेताहरुले प्रदीप नेपालसँग घण्टौ छलफल गर्दै ओली र नेपाललाई मिलाउँन आग्रह गरेका थिए । त्यसको दुई दिनपछि माधवकुमार र प्रदिपका बीचमा छलफल हुनुलाई नेताहरुले चासोका साथ हेरिरहेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा सहितका नेताहरु प्रदिप नेपाललाई भेटेका थिए । यसैबीच नेकपा महासचिव एवं अर्थ मन्त्री विष्णु पौडेल र स्थायी कमिटीका सदस्य भीम रावलका बीचमा मंगलबार छलफल भएको छ । ओली निकटका पौडेल र नेपाल निकटका रावलका बीचमा राष्ट्रियसभा गृहमा भएको भेटघाटलाई दुई नेताका बीचमा नयाँ समिकरण बनाउँने अर्थका रुपमा लिईएको छ । 
