![]()
Peoples News : विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप १,२२१ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३८,५६१ पुगेको सरकारी तथ्याङ्कले देखाउँछ । आइतवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको बताए । यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२१ पुगेको छ । आइतवार काठमाण्डू जिल्लामा सर्वाधिक ३७२ सङ्क्रमित फेला परेका हुन्। ललितपुर १२ र भक्तपुरमा ४५ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । उनका अनुसार अहिले देशभरि १७,५१८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,६१२ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,९०० जना घरमै छन् । अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन् । आइतवार मृत्यु पुष्टि भएकाहरूमा चार जना महिला र १० जना पुरुष रहेका छन् । 
तीमध्ये महोत्तरीका तीन जना, सुनसरी र रूपन्देहीका दुई-दुई जना रहेका छन् । मृत्यु हुने महिलाहरूमा सुनसरीकी ७४ वर्षीया, बाराकी ४७ वर्षीया, महोत्तरीकी ६२ वर्षीया र काठमाण्डूकी ७२ बर्षीया व्यक्ति रहेका छन् । पुरुषहरूमा सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय, रौतहटका ३० वर्षीय, ललिपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय एवम् रुपन्देहीका ५७ र ६७ वर्षीय व्यक्ति रहेका छन् । आइतवार सङ्क्रमण पुष्टि भएकाहरूमा सबैभन्दा बढी काठमाण्डू जिल्लाका ३७२ जना रहेका छन् । त्यस्तै बाराका ८२ जना, धनुषाका ७५ जना, रूपन्देहीका ६१ जना, मोरङका ४९ जना, बझाङका ४७ जना र पर्साका ४६ जनामा सङ्क्रमण भएको छ । विगत २४ घण्टाको अवधिमा १२,७१७ वटा नमुनाको परीक्षण गरिएको थियो । सो अवधिमा २६७ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। अहिलेसम्म ५४ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन् । देशभरि क्वारन्टीनमा ७,७९७ जना छन् । सङ्क्रमितमध्ये गम्भीर लक्षण देखिएका २१७ जना भेन्टिलेटरमा छन् ।