![]()
Peoples News : शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिलले उत्पादन गरेका फलामे रडको गुणस्तर कमजोर भेटिएको छ । जगदम्बाले फलामे डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरलाई बेवास्ता गरेको भेटिएको हो ।
जगदम्बाले फलामे डण्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा कवाडीमार्फत संकलन गरेका फलामका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको छ । यसले उत्पादन लागत केही कम हुन्छ । जगदम्बा स्टिल सञ्चालन गर्ने शंकर ग्रुपका प्रबन्ध सञ्चालक शाहिल अग्रवाल हुन् ।
नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको गुणस्तर परीक्षणमा जगदम्बा स्टिलको डण्डीमा कार्बन, फस्फोरस र सल्फरको मात्रा आवश्यकताभन्दा बढी पाइएको हो । केमिकल बढी भएपछि रडमा लचिलोपन कम हुन्छ र रड भाँच्चिने सम्भावना बढी हुन्छ ।
काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डण्डी भाँच्चिएको थियो । डण्डी गुणस्तरहीन भएको भन्दै भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाहीको माग गर्दै निवेदन दिएपछि विभागले जगदम्बाको डण्डी परीक्षण गरेको थियो ।