![]()
PeoplesNews : भैरहवा : रुपन्देहीको गैडहवा गाउँपालिका ३ का ५० वर्षीय कोभिड १९ संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा सोमबार राती उनको मृत्यु भएको भीम अस्पताल कोभिड १९ का फोकल पर्सन डा. सुमित प्रजापतिले पुष्टि गरे । यससँगै रुपन्देहीमा कोभिड संक्रतिमको मृत्युको संख्या ६ पुगेको छ । मृतक पुरुष घर निर्माण गर्ने मिस्त्री हुन् । काम गर्ने क्रममा छतबाट लडेर टाउकोमा चोट लागेपछि उपचारका लागि उनलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस अस्पतालमा ल्याइएको थियो । उपचार अघि उनीमा कोभिड १९ संक्रमण परीक्षण गर्दा भदौ ५ गते पोजिटिभ देखिएपछि अस्पतालले कोभिड उपचारका लागि सोमबार साँझ भीम अस्पताल पठाएको थियो । तर, भीम अस्पतालमा भर्नामा ढिलाइ र उपचारमा लापरबाही गर्दा भाइको मृत्यु भएको दाजु हसन मोहम्मद नाउले दावी गरे ।
आइसीयूमा राखेर उपचार गर्नुपर्ने भएपनि अस्पतालले सही समयमा सही उपचार नगर्दा अवस्था चिन्ताजनक बन्दै गएको र राती भाइको मृत्यु भएको उनले बताए । मृतकलाई आइसीयू कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेपनि जनशक्तिको अभावमा उपचार हुन नसकेको फोकल पर्सन डा. प्रजापतिले स्वीकार गरे । ‘बिरामीलाई अस्पताल ल्याउँदा उनको स्वास्थ्य अवस्था नाजुक थियो, आइसीयूमा राखेर उपचार गर्नुपर्ने थियो, ‘ फोकल पर्सन डा. प्रजापतिले अन्नपूर्णसँग भने, ‘हामीसँग आइसीयू कक्ष भएपनि जनशक्तिको अभावका कारण आइसीयूमा उपचार गर्न सकेनौँ तर, पनि ज्यान जोगाउनका लागि प्रयास गर्दागर्दै मृत्यु भयो । अस्पतालमा केही समय अघि नै ५ बेडसहितको आइसीयू कक्ष निर्माण गरिएपनि सरकारको लापरवाहीका कारण संचालनमा आउन सकेको छैन ।