![]()
बेलायतस्थित पुराना सामग्री खरिद गर्ने एउटा कम्पनीले महात्मा गान्धीको अत्यन्तै पुरानो एउटा चस्मा चार करोड आठ लाख रुपैयाँमा विक्री गरेको छ। एक अमेरिकी सङ्ग्रहकर्ताले उक्त चस्मा लिलाम बढाबढमार्फत् खरिद गरेका हुन्।

ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडले जनाएअनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो। आफूहरूले शुरूमा अनुमान गरेकोभन्दा बढी रकममा चस्मा विक्री भएको कम्पनीका एन्ड्र्यू स्टोले बताए।
उक्त चस्माको मूल्य बताइँदा त्यसको स्वामित्व भएका व्यक्ति झन्डै मूर्च्छित भएको उनी बताउँछन्।चस्माको स्वामित्व भएको ब्रिस्टलको म्यानगस्ट्सफील्डका वयोवृद्धले लिलामीबाट आएको रकम आफ्नी छोरीसँग बाँड्ने अभिव्यक्ति दिएका छन्।
ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका एन्ड्र्यू स्टोले भने, “लगभग ५० वर्षसम्म त्यो चस्मा दराजभित्र तेत्तिकै थन्किएको थियो। लिलामीमा राख्ने व्यक्तिले कुनै कामको चिज नभएको भन्दै त्यसलाई फालिदिन्छु भनेर मलाई एकताका भनेका थिए।” “चस्माको स्वामित्व भएको व्यक्तिका लागि यो लिलामी राम्रो कुरा हो। बुढेसकालमा उनलाई यो ठूलो रकम निकै काम लाग्ला।”
महात्मा गान्धीको चस्मालाई एउटा नयाँ ठाउँमा पुर्याउन पाएकोमा हामीलाई खुशी लागेको छ। यो लिलामी हाम्रो लागि नयाँ कीर्तिमान त हुँदै हो तर ऐतिहासिक रूपमा पनि महत्त्वपूर्ण छ,” उनले बताए।
रहस्य: पत्रमन्जूषामा कसरी पुग्यो होला चस्मा?
स्टोका अनुसार खामभित्र हालेर शुक्रवार राति पत्रमन्जूषामा कसैले खसालिदिएका थिए र सोमवारसम्म चस्मा त्यहीँ थियो। खाममा चस्मा फेला परेपछि उनले आफ्ना मालिकसँग सम्पर्क गरी चस्माको महत्त्वबारे बताए।
“हामीले मिति जाँच्यौँ। सबै कुरा मिल्यो, गान्धीले चस्मा लगाउन थालेको मिति पनि मिल्यो,” स्टोले भने। स्टोले भने, “हाम्रा एक कर्मचारीले हामीलाई चस्मा भएको त्यो साधारण खाम दिए र त्यसमा भएको एउटा पत्रमा त्यो चस्मा महात्मा गान्धीको भएको लेखिएको थियो।”
अनुसन्धान गर्दा सुनको जलप लगाइएको घेरा भएको उक्त गोलाकार चस्मा वास्तवमै नागरिक अधिकारका लागि सङ्घर्ष गरेका भारतीय नेता गान्धीले लगाएको पत्ता लागेपछि आफू झन्डै कुर्सीबाट लडेको उनी बताउँछन्। “मैले ती व्यक्तिलाई फोन गरेँ अनि उनलाई झन्डै हृदयाघात भए जस्तो मलाई लाग्छ,” स्टोले भने।
ती व्यक्तिका अनुसार उनको परिवारका एक व्यक्तिले सन् १९२० को दशकमा गान्धीलाई दक्षिण अफ्रिकामा भेटेका थिए। त्यसपछि उक्त चस्मा आफ्नो परिवारको अधिनमा आएको उनको भनाइ छ।