लकडाउनले सुकायो उद्योग , कामदारलाई सास्ती ।

Loading

लकडाउनले सुकायो उद्योग , कामदारलाई सास्ती ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेयता अत्यावश्यक वस्तु उत्पादन गर्ने बाहेकका उद्योग-कलकारखाना ठप्प छन् । सरकारले पर्याप्त स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाएर बन्द उद्योगहरु खोल्न सकिने बताए पनि उद्योगीहरुले चासो दिएका छैनन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगभित्र रहेका कामदार बाहिर नआउने र बाहिरका व्यक्ति भित्र नजाने गरी ‘क्वारेन्टाइन’ बनाएर उद्योग चलाउन आग्रह गरेको छ । तर, उद्योगीहरु अहिलेकै अवस्थामा उद्योगहरु चलाउँदा खर्च मात्रै थपिने र कामदारको व्यवस्थापनमा जटिलता आउने तर्क गर्छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले ब्यापार-व्यवसाय प्रभावित भएको अवस्थामा उद्योग मात्रै खोलेर अर्थ नहुने बताए । अत्यावश्यकीय औषधी, ग्यास, खाद्यान्न, खानेपानी लगायतका उद्योग सञ्चालनमै रहेको भन्दै उनले त्यसबाहेकका सामग्री लकडाउन अवधिभरि उत्पादन गर्न नसकिने उल्लेख गरे ।

‘लकडाउन विस्तारै खुकुलो हुँदै गएपछि सरकारी नीति अनुरुप उद्योगहरु खुल्छन्,’ उनले भने, ‘अहिले अन्य उद्योग खोलेर त्यहाँका कामदार र उत्पादन कहाँ कसरी व्यवस्थापन गर्ने ? समस्या हुन्छ ।’

कामदारको समस्या

बजारमा अत्यावश्यक सामान उत्पादन गर्न चलिरहेका कतिपय उद्योगले हाल कामदार व्यवस्थापनमा समस्या भोगिरहेका छन् । श्रमिकले महामारीको जोखिममा पनि दैनिक कार्यालय आउनुपर्दा झन्झट मान्ने गरेको उद्योगी बताउँछन् ।

‘कतिपय श्रमिकमा अरु क्षेत्रका कामदार घरमा बसेरै तलव-सुविधा पाइरहेका छन्, म चाँही किन कार्यालय जाने भन्ने सोच पनि छ,’ एक उद्योगीले नाम नबताउने शर्तमा भने, ‘त्यसैकारण चालु हालतका उद्योगहरुले थप पारिश्रमिक दिने गरी काम लगाइरहेका छन् ।’

कतिपय उद्योगमा काम गर्ने कामदारलाई घरपरिवारले काममा रोक्ने समस्या छ । कतिपयलाई घरबेटी र छरछिमेकीले पनि बाहिर-भित्र नगर्न चेतावनी दिने गरेका छन् । सबैतिर संक्रमणको त्रास भएकाले उद्योग आउने/जाने गरिरहेका कामदारसँग छिमेकी र परिवारका सदस्य नै डराउने अवस्था रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोर बताउँछन् ।

‘सरकारले भित्रै कामदार राखेर चलाउन भनेको छ, तर ठूलो संख्यामा कामदार व्यवस्थापन गर्न र उनीहरुबीच सामाजिक दूरी कायम राख्न सहज छैन,’ उनले भने, ‘त्यसैले लकडाउन खुल्ने अवधिसम्म प्रतिक्षा गर्नु नै उत्तम हुने देखिन्छ ।