![]()
: असोक यादव – अध्यक्ष (आम आदमी पार्टी नेपालए) प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको देशभित्र र बाहिर चर्को आलोचना भएको छ । भारतीय समाचार संस्था पीटिआईको समाचारमा उक्त अभिव्यक्तिलाई ‘राजनीतिक विवाद उक्साउने’ भन्दै भारतलाई ‘चोट पुर्याउने आश्चर्यजनक कदम’ भनिएको छ । सोही समाचारमा जनाइए अनुसार सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन् । उनले भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही भनेर भनेको उल्लेख गरिएको छ । अर्को भारतीय समाचार संस्था आइएएनएसले लेखेको समाचारमा ओलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेर उल्लेख गरिएको छ । नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएका बेला आएको उनको अभिव्यक्तिलाई देशभित्रै मानिसहरूले विश्वास नगरिरहेको भनेर उसले लेखेको छ । एनडिटीभी डट कममा प्रकाशित समाचारमा ओलीको अभिव्यक्तिले ‘रामका अनुयायीहरूलाई उत्तेजित पार्ने देखिएको’ लेखिएको छ ।
देशभित्र चर्को आलोचना : देशभित्रै कतिपयले सीमा विवादका कारण छिमेकी भारतसँगको सम्बन्ध चिसिएको बेला उनको यो पछिल्लो टिप्पणीले दुई देशको सम्बन्ध सुधार्नमा सघाउ नपुग्ने चिन्ता समेत व्यक्त गरेका छन् । सोमवार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले ‘नेपाल सांस्कृतिक रूपमा थिचिएको र तथ्यहरूमा अतिक्रमण भएको’ भन्ने टिप्पणी गरेका थिए । सामाजिक सञ्जालमा केही थोरैले उनको टिप्पणीको समर्थन गरेको पनि देखिन्छ भने केहीले प्रधानमन्त्रीको भनाइप्रति व्यङ्ग्य पनि गरेका छन् । टिप्पणी गर्नेहरूमा सामाजिक सञ्जालका नियमित प्रयोगकर्ताहरूका साथै विभिन्न पेशाकर्मी लेखक, पत्रकार र राजनीतिक कार्यकर्ताहरू पनि रहेको उनीहरूको परिचयबाट बुझ्न सकिन्छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओलीको भनाईबारे व्यङ्ग्य गर्दै ‘नयाँ रामायण श्रवण गरौँ’ भन्दै ट्विट गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो प्रकरणले नेपाल भारतबीच थप विवाद सिर्जना गर्नेतर्फ प्रधानमन्त्रीको ध्यान गएको जस्तो नदेखिएको भन्दै ट्विट गरेका छन् ।
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अङ्ग्रेजीमा ट्विट गर्दै लेखेका छन्: “धर्म राजनीति र कूटनीतिभन्दा माथि छ। यो निकै भावनात्मक विषय हो। बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ। अयोध्या वीरगञ्ज नजिकै भए सरायु नदी कहाँ छ?”
ओलीको भनाइप्रति आश्चर्य व्यक्त गर्दै ट्विट गर्नेमा उनकै पूर्व प्रेस सल्लाहकार कुन्दन अर्याल समेत छन्।
नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले समेत ओलीबाट ‘एकपछि अर्को’ यस्तो अभिव्यक्ति आउनु ‘रहस्यमय’ रहेको ट्विट गरेका छन्।
You must be logged in to post a comment.