![]()
peopels news : काठमाडौँ- केही समययता नेपाल र नेपाली नेताहरुबिरुद्ध जथाभावी प्रचारबाजी गरिरहेका भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको हो । भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा अतिरञ्जित र अनर्गल प्रचार गरेको भन्दै विदेशी च्यालन बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्याक्ष ध्रुव शर्माले जानकारी दिए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए । उनले भने ‘भारतीय न्युज च्यानलहरुको नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि हामी वितरकहरुले आफैं सल्लाह गरेर त्यस्ता आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरेका हौं । तर इन्टरनेटबाट आउने सामग्री रोक्न सरकारले नीति नल्याएसम्म हामीले चाहेरमात्र भारतीय च्यानलको प्रसारण रोक्न सकिन्न ।’
उनले भने, ‘नेपालको राष्ट्रियतामाथि आँच आउने समाचारहरु प्रसारण भएकाले हामीले भ्रामक र अतिरञ्जित खबर फैलाउने भारतीय न्यूज च्यानलहरुको प्रसारण साँझदेखि रोकेका हौँ।’ जीटिभी, आजतक, एबिपीलगायत समाचार च्यानलहरु बन्द गरिएका हुन् । बिहीबार साँझदेखि नेपालमा कुनै पनि भारतीय न्युज च्यानलहरु प्रसारण भएका छैनन् । हामी नेपालमा भएका अपरेटर लाइसेन्स लिएर काम गरेका छौँ । यो चाहेको अवस्थामा बन्द हुन सक्छ भन्ने सन्देश पनि हो’, उपाध्यक्ष शर्माले भने, ‘हामीले २५–३० लाख टेलिभिजनका दर्शकले हेर्ने च्यानल बन्द गर्न सक्यौँ । अब करोडौंको हातमा मोबाइल एपबाट आएका गलत सूचना रोक्ने जिम्मा सरकारको हो ।