राप्रपामा भागबन्डाका कारण असन्तुष्टि बढ्दै

Loading

peoples news : राष्ट्रिय  प्रजातन्त्र पार्टीका शीर्ष नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेले पार्टीमा काम गरेका पुराना कार्यकर्तामाथि अन्याय भएको आरोप लगाएका छन् । पाण्डेले विगतमा केन्द्रीय समितिमा रहेका राप्रपा र राप्रपा संयुक्तका नेतालाई एकीकृत पार्टीको केन्द्रीय समितिमा समावेश गर्न पनि माग गरेका छन् । माग पूरा नभएसम्म पार्टीका सबै बैठक बहिष्कार गर्ने पनि उनले चेतावनी दिएका छन् । 

‘एकीकृत पार्टीमा भागबन्डाका नाममा इमानदार र सक्षम साथीहरू छुटेका छन् । भागबन्डाका नाममा अन्याय भएको छ,’ पाण्डेले शनिबार भने, ‘साथीहरूलाई समावेश नगरेसम्म म पार्टीको कुनै पनि निकायको बैठकमा सहभागी हुन्नँ । पार्टीका अध्यक्ष पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापालाई मैले भनेको छु ।’

एकीकृत पार्टीमा तीन सय २७ जना केन्द्रीय सदस्य छन् । यीमध्ये एक सय ८० जना थापा समूहबाट तथा  केन्द्रीय कार्यसम्पादन समितिमा दुवै समूहबाट ८२ जना परेका छन् ।  थापा समूहबाट ५५ प्रतिशत र राणा–लोहनी समूहबाट ४५ प्रतिशत भागबन्डामा परेका छन् । पूर्ववत् समूहका आधाभन्दा बढी नेताहरू केन्द्रीय समितिमा छुटेको पूर्वमन्त्री पाण्डेको आरोप छ । पूर्वमन्त्री पाण्डे राप्रपा संयुक्तका शीर्ष नेता थिए ।

राप्रपामा वरिष्ठ नेता बुद्धिमान तामाङ, सुनीलबहादुर थापा र राजेन्द्र लिङ्देन पनि पछिल्लोपटक पार्टीमा असन्तुष्ट छन् । एकीकृत पार्टीका पछिल्ला बैठकमा उनीहरू सहभागी छैनन् ।