![]()
pnews : चिनियाँ सर्वेक्षकहरूको एउटा टोलीले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेको छ । कोरोनाभाइरस महामारी फैलिएपछि नेपाल र चीनले पर्वतारोहणसम्बन्धी सबै गतिविधि बन्द गरेको बेला यो वर्षको वसन्तऋतुमा विश्वको सर्वोच्च शिखरमा उक्त टोली मात्र पुगेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार उक्त टोली सगरमाथाको उचाइ पुन: मापन गर्न गएको हो । सगरमाथा नेपाल र चीनको सीमामा अवस्थित छ । नेपालका अनुसार सगरमाथाको उचाइ ८,८४८ मिटर छ । तर अहिलेसम्म चीनले त्यसभन्दा चार मिटर कम भएको मानेको छ । चिनियाँ टोलीले गत एप्रिल महिनामा आफ्नो आरोहण अभियान थालेको थियो। तर प्रतिकूल मौसमका कारण त्यो प्रभावित भयो । हावा चलिरहेको बेला सर्वेक्षकहरू सगरमाथाको चुचुरोमा काम गरिरहेको दृष्य चीनको सीसीटीभीले प्रत्यक्ष प्रसारण गरेको थियो । आरोहण गरेपछि टोलीका सदस्यहरूले हिमाच्छादित शिखरमा सर्वेक्षणको चिनो गाडेको समाचारसंस्था सिन्ह्वाले जनाएको छ । उसका अनुसार मङ्गलवार पर्वतारोहीलाई आरोहण गर्न सहज बनाइदिन डोरी टाँगिएको थियो । चिनियाँ आरोहीहरू मात्र सगरमाथाको शिखरमा पुग्नु दुर्लभ घटना भएको बताइन्छ । “सन् १९६० को वसन्तऋतुमा चिनियाँहरू मात्र शिखरमा पुगे । भारतीयहरूले प्रयास गरेका थिए तर सफल हुन सकेनन्,” पर्वतारोहणसम्बन्धी अभिलेख राख्ने हिमालयन डेटाबेसका रिचर्ड सौल्ज्ब्री भन्छन् । यो वर्ष चीनले सगरमाथाको सफल आरोहणको ६० औँ वार्षिकोत्सव मनाउन लागेको छ ।
सगरमाथाको उचाइ : चीनले सन् २००५ मा पनि सगरमाथाको उचाइ नापेको थियो । त्यसपछि उसले विश्वको सर्वोच्च शिखरको उचाइ हिउँको तहबाहेक ८,८४४.४३ मिटर भएको बताउने गरेको छ । तर नेपालले अहिलेसम्म भारतमा ब्रिटिश शासन हुँदा निर्धारित उचाइ ८,८४८ मिटरलाई मान्यता दिँदै आएको छ । यो उचाइमा हिउँको तह पनि समाविष्ट छ । सन् २०१५ मा नेपालमा आएको भूकम्पले सगरमाथामा पारेको प्रभावको परीक्षण हुन बाँकी नै छ । केही भूगर्भशास्त्रीहरू भूकम्पका कारण हिउँको तह खुम्चिएको धारणा राख्छन् । सन् २०१७ नेपाल सरकारले आफैँ सगरमाथाको उचाइ नाप्ने अभियान थाल्यो । नेपाली टोलीले परम्परागत र आधुनिक प्रविधि प्रयोग गरेर सङ्कलित डेटा प्रशोधनको कार्य लगभग सकिएको बताइएको छ । अब अन्तिम चरणको काम मात्र काम बाँकी भएको बताए । यति बेला एउटा अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गर्ने र मापनको परिणाम सार्वजनिक गर्ने योजना थियो । तर कोभिड-१९ का कारण लगाइएको लकडाउनले सबै कुरा ढिलो हुने भयो,” उनले भने ।
गत अक्टोबर महिनामा चीनका राष्ट्रपति सी जिन्पिङले नेपालको भ्रमण गर्दा दुई देशले एउटा संयुक्त विज्ञप्ति जारी गर्दै सगरमाथाको उचाइ घोषणा गर्ने बताएका थिए । दुई देशका टोलीले फरक उचाइ मापन गरे भने के हुन्छ भन्ने स्पष्ट छैन । चीनले सन् १९७५ मा पहिलो पटक सगरमाथाको उचाइ मापन गरेको थियो । savar : https://www.bbc.com/nepali/news-52830114
You must be logged in to post a comment.