![]()
pnews : काठमाडौं : वैदेशिक रोजगारीका लागि गएका नेपालीहरुमध्ये लकडाउनको अवधिमा २ सय ५ जनाको मृत्यु भएको छ । त्यसमध्ये कोरोना भाइरस (कोभिड–१९)का कारण १५ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डले भने कोरोना भाइरसका कारण मृत्यु भएका नेपाली कामदाहरुको संख्या दश मात्र रहेको पुष्टि गरेको छ । नेपाली दूतावासबाट प्राप्त तथ्यांकले मृतक संख्या दशभन्दा बढी देखाएको छ । बोर्डका अनुसार लकडाउनको अवधिमा यूएईमा ४६ जना, मलेसियामा ४४, साउदी अरबमा ४९ जना, कतारमा ४१, कुवेतमा ११, बहराइनमा ३, दक्षिण कोरियामा ३, ओमान र सेसेल्समा १/१ र अन्य देशमा ६ जना गरी २ सय ५ जना नेपाली कामदारको मृत्यु भएको छ । यूएईमा मृत्यु भएका ४६ नेपालीमध्ये ५ जनाको कोरोनका कारण मृत्यु भएको हो । साउदी अरबमा ३ जनाको मृत्यु भएको बोर्डले जनाएपनि नेपाली दूतावासले ७ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ । कतारमा मृत्यु भएका ४१ जनामध्ये १ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै टर्की र अन्य एक देशमा गरी २ जना नेपाली कामदारको ज्यान कोरोनाले लिएको छ ।