![]()
कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न संघीय र प्रदेश सरकारले मेला, महोत्सव, भेला, प्रदर्शनी नगर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सोमबारनै उक्त निर्णय सार्वजनिक गरेर कार्यान्वयनका
लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचारसमेत गरेको थियो । सोही सूचनाको आधारमा बाँके प्रशासनले बुधवार जिल्लाका कुनै पनि ठाउँमा मेला, महोत्सव, भेला र सम्मेलन गर्न–नगराउन निर्देशनसहितको सूचना जारी ग¥यो । तर, नेपालगन्जमा सुरु भएको दोस्रो व्यापार मेला भने स्थगित भएको छैन ।
महोत्सव बन्द गर्न सार्वजनिक सूचना जारी गरेपनि आयोजक एजी सर्भिसेज प्रालिले आनाकानी गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । उनले भने, ‘प्रशासनले मेला, महोत्सव, गोष्ठी, सेमिनार नगर्न निर्देशन दिइसकेको छ । यसैलाई आधिकारिक मानेर आयोजकले मेला, महोत्सव र कार्यक्रम स्थगित गर्नुपर्छ ।’ उनले प्रशासनले जारी गरेको सार्वजनिक सूचनाको बेवास्ता गरि मेला, महोत्सव, भेला र गोष्ठी सञ्चालन गरेको पाइए कानुन बमोजिम कारवाही गर्ने बताए ।
महोत्सव तत्कालै स्थगित हुन्नः आयोजक नेपालगन्जमा बुधवारदेखि सुरु भएको नेपालगन्ज दोस्रो व्यापार मेला तत्काल स्थगित नहुने मेला सचिवालय संयोजक बसन्त मल्लले स्पष्ट पारे ।
उनले स्थानीय प्रशासन र स्थानीय निकायसँग अनुमति लिएर सञ्चालन गरेकोले तत्काल रोक्न सम्भव नभएको बताए । उनले महोत्सव सञ्चालनका लागि राजनीतिक दबाब नदिएको जिकिर गरे । ‘राजनीतिक दलको आडमा महोत्सव सञ्चालन गरेको भन्ने आरोपमा कुनै सत्यता छैन ।’ मल्लले भने ।
उनले महोत्सव स्थगनका लागि स्थानीय प्रशासनबाट लिखित परिपत्र नआएको बताउँदै महोत्सव संचालनका लागि संरचना निर्माण गर्न लाखौं रुपैयाँ खर्च भइसकेकोले स्थानीय प्रशासन गम्भीर हुन आवश्यक रहेको औँल्याए । उनले सरकारले गरेको निर्णय सच्याउन नसकिने भएपनि लाखौँ रुपैयाँ डुब्ने खतरालाई मध्यनजर गर्दै प्रशासनले सहयोग गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘प्रशासनले सूचना जारी गर्दैमा महोत्सव रोकिदैन, तर अवधि छोट्याउन सकिन्छ ।’ उनले प्रहरी, प्रशासनले नेपालगन्ज महोत्सवलाईमात्र देखेको बताउँदै अन्य बाँकेमा हुने अन्य क्रियाकलाप रोकेर देखाउन चेतावनी दिए । मानिसको जमघट हुने क्रियाकलाप नगर्न सार्वजनिक सूचना जारी गरेको प्रशासनले नेपालगन्ज रंगशालामा निर्माण भएको पौडीपोखरी उद्घाटन कार्यक्रम रोक्न किन सकेन? भन्दै प्रश्न गरे । उनले मानिसको धेरै भीडभाड हुने बसपार्क, अस्पताललगायतका ठाउँमा पनि निगरानी बढाउनुपर्ने बताए । उनले भने, ‘प्रशासनले सक्छ भने नाका शील गरेर भारतबाट आउजाउ गर्न बन्द गर्नु प¥यो । मानिसको भीडभाड हुने अन्य कार्यक्रम पनि रोक्न सक्नु प-यो ।’