![]()
pnews.com.np : संसारभरका शेअर बजारमा सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कट यताकै सबैभन्दा खराब साता देखिएको छ । कोरोनाभाइरसको प्रकोप फैलिएपछि लगानीकर्तामा देखिएको डरका कारण संसारभरको शेअर बजार ओरालो लागेको बेला लन्डनको फुट्सी १०० इन्डेक्स तीन प्रतिशतभन्दा बढीले घटेको छ । एशियाली शेअर बजारमा झन् ठूलो असर परेको छ भने अमेरिकाको डाउ जोन्सले सबैभन्दा ठूलो गिरावट भएको दिन देखेको छ । लगानीकर्ताहरूमा कोरोनाभाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी देखिने डर देखिएको छ ।
- कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणविरुद्धको लडाइँ ‘अब निर्णायक चरणमा’
- कोरोनाभाइरस त्रास: जापानमा एक महिना विद्यालय छुट्टी
इटलीमा समेत प्रकोप देखिएको समाचारहरूले पहिले अपेक्षा गरिएभन्दा ठूलो असर देखिन सक्ने अनुमान गरिएको छ । “बजार आवश्यकताभन्दा बढी आशावादी भएको थियो, अहिले आवश्यकताभन्दा बढी निराशावादी भएको छ,” आईएनजीका ग्रेटर चाइना अर्थविद् आइरिस पाङले भने । स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्कका रणनीतिकार मयङ्क मिश्रले थपे: “पहिले चीनमा लगाइएका प्रतिबन्धहरूका कारण बजारमा एक खालको सहजता देखिएको थियो ।”
“तर चीनबाहिर विशेषगरी दक्षिण कोरिया, इटली र जापानमा कोरोनाभाइरस फैलिएपछि चिन्ता बढेको छ ।” शुक्रवार बिहान शेअर बजार खुल्दा सबै युरोपेली शेअर बजारहरू ओरालो लागेका छन् । जर्मनीको शेअर बजार ३.६ प्रतिशतले र फ्रान्सको शेअर बजार ३.१ प्रतिशतले घटेर खुलेका थिए । यसअघि एशियामा जापानको शेअर बजार ३.७ प्रतिशतले घटेपछि यो साता कूल ९ प्रतिशतको गिरावट आएको छ।
अस्ट्रेलियाको शेअर बजार ३.३ प्रतिशतले घट्यो जुन सन् २००८ यताको सबैभन्दा ठूलो गिरावट हो । भारतका निफ्टी ५० र सेन्सेक्स शेअर बजार दुवै लगभग तीन प्रतिशतले घटेको छ । चीनको साङ्घाई कम्पोजिट इन्डेक्स शुक्रवार ३.७ प्रतिशतले घटेको छ ।


