चीनमा लगातार तेस्रो दिन कोरोनाभाइरसको सङ्क्रमण सङ्ख्या घट्यो

Loading

peoples news :

चीनले लगातार तेस्रो दिन कोरोनाभाइरसको नयाँ सङ्क्रमितको सङ्ख्या घटेको बताएको छ । आइतवार चीनमा २,००९ जना नयाँ बिरामी र थप १४२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । यो हप्ताको सुरुमा नयाँ बिरामी गन्ने तरिकामा परिवर्तन गरिएपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढे पनि त्यस यता लगातार घटेको हो । अहिलेसम्म कूल ६८,००० लाई चीनमा कोरोनाभाइरसले सङ्क्रमण गरेको र मृत्यु हुनेको सङ्ख्या १,६६५ पुगेको छ।

चीनबाहिर भने नेपालसहित २० देशमा झन्डै ५०० जनालाई सङ्क्रमण भएको छ। फ्रान्स, हङ्‍कङ, फिलिपिन्स र जापानमा गरी चार जनाको मृत्यु भएको छ । नयाँ तथ्याङ्क आउनुभन्दा पहिले चिनियाँ विदेशमन्त्री वाङ यीले यो प्रकोप नियन्त्रण गर्न सकिने बताएका थिए । कोरोनाभाइरससम्बन्धी अन्य नयाँ विवरणहरू यसप्रकार छन्:

  • जापानमा क्वारन्टीनमा राखिएको क्रुज जहाजमा सङ्क्रमितहरूको सङ्‍ख्या ३५५ पुगेको छ। डायमन्ड प्रिन्स नामको सो जहाज चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमण भएको स्थान बनेको छ। अमेरिका र जापानले त्यहाँ भएका आफ्ना नागरिकहरूको उद्धार गर्न विमान पठाउने बताएका छन्।
  • चीनको केन्द्रिय ब्याङ्कले नोटहरूबाट भाइरस सर्नबाट रोक्न ब्याङ्क भित्रिएका नोटलाई सफा गरेर मात्रै बाहिर पठाउने बताएको छ।
  • शनिवार एकजना चिनियाँ पर्यटकको कोरोनाभाइरस सङ्क्रमणका कारण फ्रान्समा मृत्यु भएको छ। कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो।
  • क्याम्बोडियामा एउटा पानीजहाजबाट झरेर विमानमा मलेसिया जान लागेकी एक ८३-वर्षीया अमेरिकी महिलालाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। जहाजका अन्य यात्रुलाई परीक्षणका लागि रोकिएको छ।
  • यूकेमा कोरोनाभाइरसका सङ्क्रमण भएका नौमध्ये आठ जना अस्पतालबाट घर फर्केका छन्। BBC

Leave a Comment