![]()
peoples News नेपालले नयाँ कीर्तिमान कायम गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकालाई आठ विकेटले पराजित गरेको छ । अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बराबर गरेको नेपालले विजय लक्ष्य ५.२ ओभरमा दुई विकेट गुमाएर हात पार्यो । विजयका लागि पूर्वकप्तान पारस खड्का २० रनमा र उपकप्तान दीपेन्द्रसिंह ऐरीले १५ रनमा नटआउट रहे । कप्तान ज्ञानेन्द्र मल्ल एकमा र सुवास खकुरेल शून्यमा आउट भएका थिए ।
नेपालको कीर्तिमान स्पिनर सन्दीप लामिछानेले छ र सुसन भारीले चार विकेट लिएपछि कीर्तिपुर मैदानमा आयोजित विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा अमेरिका न्यूनतम रनमा समेटिएको थियो । श्रीलङ्काले सन् २००४ मा जिम्बाब्वेलाई ३५ रनमा सीमित पारेर बनाएको कीर्तिमानको नेपालले बराबरी गरेको हो । तर जिम्बाब्वेले १८ ओभर खेलेको थियो भने अमेरिकाले १२ ओभर मात्रै खेल्यो । यो सबैभन्दा कम बलमा विपक्षी टोलीलाई आउट गरेको नयाँ कीर्तिमान हो । यसअघि यो कीर्तिमान अफगानिस्तानले सन् २०१७ मा जिम्बाब्वेलाई १३.५ ओभरमा ५४ रनमा अलआउट गरेर बनाएको थियो ।

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ
लामिछानेले छ ओभर बलिङ गर्दै १६ रन दिएर छ विकेट लिए। यो नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा राम्रो बलिङ हो । भारीले तीन ओभरमा पाँच रन दिँदै चार विकेट लिए जुन नेपाली खेलाडीको तेस्रो राम्रो बलिङ हो । अमेरिकाका लागि ओपनर जाभियर मार्शलले १६ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यसअघि भएको अर्को खेलमा पनि नेपालले अमेरिकालाई हराएको थियो । तर ओमानसँग भएका दुवै खेलमा पराजित भएको थियो । bbc