![]()
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको ३१७ रोपनी वन यती समूहलाई दिने निर्णयप्रति सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले आपत्ति जनाएको छ । महासंघको ताप्लेजुङ शाखाले यो गलत निर्णय सच्याउन माग गर्दै आन्दोलनको चेतावनीसमेत दिएको छ । महासंघका जिल्ला अध्यक्ष सुरज ओझाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो क्षेत्रमा लालीगुँरास, लौठसल्लाका साथै हजारौँको संख्यामा चरा–चुरुंगीलगायत बहुमूल्य जडीबुटी तथा आकर्षक गन्तव्य रहेकाले सो निर्णय तुरुन्त सच्याउन महासंघ माग गर्दछ ।’ केन्द्र सरकार र नगरपालिका मिलेर सरकारी जग्गा र जंगल मास्ने योजना बनेको महासंघको आरोप छ । ‘जिल्लाको फुङलिङ नगरपालिका र नेपाल सरकारबाट गठित पाथीभरा क्षेत्र विकास समितिको अगुवाइमा यस्तो निर्णय भएको प्रस्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनी मापदण्डसमेत पूरा नगरी सरकारी जग्गा व्यक्तिलाई दिने र सो क्षेत्रका ६ हजार ६ सय २१ रूख काट्न दिने निर्णय भएकोमा महासंघ खरो आन्दोलनमा उत्रनेछ ।’ naya patrika