पाँच वर्षमा पनि पूरा भएन खानेपानी आयोजना

Loading

peoples news ktm पाँच वर्षमा पनि खानेपानी आयोजना पूरा नहुँदा भानु नगरपलिका १३ र व्यास नगरपालिका ९ का स्थानीयले सास्ती खेप्दै आएका छन् । ०७१ बाट सुरु भएको सतिस्वारा–मिर्लुङ लिफ्टिङ खानेपानी आयोजनाको काम अझै पूरा भएको छैन । समयमै आयोजना सम्पन्न नहुँदा स्थानीयको दैनिकी खानेपानीको जोहोमै बित्ने गरेको छ ।

गाउँमा पानीको स्रोत नहुँदा दैनिक डेढ घन्टा पैदल हिँडेर ओसारेको पानी पिउनुपर्ने बाध्यता छ । ‘एक गाग्री पानी ल्याउन डेढ घन्टा पैदल हिँड्नुपर्छ,’ आयोजनाका अध्यक्ष रफिक मियाँले भने, ‘गृहिणीको हरेक बिहान पानी ओसार्नमै बित्ने गरेको छ ।’

सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा आयोजना निर्माणमा ढिलाइ भएको उनले बताए । ‘आयोजनाका लागि पर्याप्त बजेट विनियोजनका लागि हामीले सांसदहरूलाई आग्रह गर्दै आएका छौँ, तर सुनुवाइ भएको छैन,’ उनले भने ।

लागत स्टिमेट १३ करोड
आयोजना सम्पन्न हुन १२ करोड ८९ लाख ९८ हजारको स्टिमेट तयार भएको छ । आयोजना निर्माण सम्पन्न हुँदा साबिकको सतिस्वाराका ८ सय ८७ परिवार लाभान्वित हुनेछन् ।  १२ करोड ८९ लाख ९८ हजार लागतमध्ये सरकारको १० करोड ८८ लाख र उपभोक्ताबाट दुई करोड एक लाख ९५ हजार रुपैयाँबराबरको श्रमदान रहने सम्झौता छ ।

आयोजनाका लागि पर्याप्त बजेट विनियोजन नहुँदा निर्माणले गति लिन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद  तिमिल्सिनाले बताए । आयोजनामा अहिलेसम्म तीन करोड ६३ लाख ३७ हजार रुपैयाँ खर्च भइसकेको छ ।

यो ससर्त अनुदानअन्तर्गत सञ्चालित आयोजना हो । आयोजनाको हालसम्म ४८ प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर वामदेव पौडेलले बताए । उनका अनुसार आयोजनाको इन्टेकको काम सम्पन्न भइसकेको छ । एउटा ६० घनमिटरको आरसिसी ट्यांकी पनि निर्माण भइसकेको छ । naya patrika

Leave a Comment