![]()
Peoples news काठमाडौं। दुई साताअघि कियाको बहुप्रतिक्षित एसयुभी सेल्टसको बिक्री शुभारम्भ गर्दा गाडी बुकिङ गर्ने दुई सय पुगेका थिए।
कियाको नेपालस्थित आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले उत्साहित रूपमा गाडी बुकिङ भएपछि ग्राहकलाई दुई महिनाभित्र हस्तान्तरण गर्ने जानकारी गराएको थियो।
भारतमा हलचल मच्चाएको यो ब्राण्डप्रति नेपालमा पनि उस्तै आकर्षण छ। बुकिङको उत्साह देखेर कन्टिनेन्टल पनि उत्साहित छ। भारतमै उत्पादन भएकाले समेत सेल्टस समयमै डेलिभरी गर्न सक्नेमा कम्पनी ढुक्क छ।
कम्पनीले सबैभन्दा पहिला बुकिङ गर्ने २५ जनालाई गाडी दियो पनि। तर, बुकिङ गरेका गाडीको डेलिभरी दिंदै जाँदा राष्ट्र बैंकको एउटा सर्कुलर आयो। त्यो सर्कुलरले भने बुकिङ गर्नेलाई गाडी किन्न अप्ठेरो पर्यो। राष्ट्र बैंकको सर्कुलरले किया बिक्रेता कन्टिनेन्टललाई मात्रै होइन देशका सबै प्यासेन्जर भेहिकल विक्रेतालाई अप्ठेरो पार्न थालेको छ।
किन भयो संकट ?
राष्ट्र बैंकले डेढ साताअघि ल्याएको निर्देशन, जसले प्यासेन्जर भेहिकल (व्यक्तिगत प्रयोजनको गाडी) को बिक्रीमा थप संकट ल्याएको हो। राष्ट्र बैंकले व्यक्तिगत हायर पर्चेज कर्जामा कर चुक्ताको प्रमाणपत्रसहित ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत कायम गर्न निर्देशन दियो।
गाडी बिक्री निरुत्साहित गर्न डाउन पेमेन्ट ५० प्रतिशतमा झारेको राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकबाट ऋणमार्फत किन्नेलाई रोक्ने काम गरेको छ। राष्ट्र बैंकको नयाँ व्यवस्थाले कियाको मात्रै होइन अरु कम्पनीका गाडी बिक्री समेत संकटमा परेको छ। यो निर्देशनपछि प्यासेन्जर भेहिकल बिक्रीमा ग्रहण नै लागेको छ।
यस अघि नै २० लाखको गाडी चढ्न १० लाख आफूले जम्मा गर्नु पर्थ्यो। यो नियम यथावत छ। यसपछि राष्ट्र बैंकले ‘गाडीको किस्ता मासिक ५० हजार तिर्नु पर्छ भने ग्राहकको कर कट्टीपछिको आम्दानी एक लाख रूपैयाँ पनि हुनु पर्छ,’ भन्ने ब्यवस्था गरेको छ। नभए ग्राहकले गाडी चढ्न ऋण पाउँदैन। साथै स्रोत खुलाउन नसक्ने आम्दानी (रेमिटेन्स, अन्य आय) लाई पनि बैंकले कर तिरेको मान्न छाडेका छन्।
हुण्डाईको नेपालको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार बुकिङ गरेका ग्राहक नयाँ व्यवस्थाले अलमलमा परेका छन्।
कम्पनीका एक कर्मचारीका अनुसार कर्जा लिने प्रक्रिया नै लामो भएकाले गाडी बिक्रीमा थप गिरावट आएको छ।
‘अहिलेसम्म बुकिङ रद्द भइसकेको छैन। तर नयाँ खरिदका लागि इन्क्वायरी गर्नेको संख्या कम भएको छ,’ ती कर्मचारीले भने, ‘बुकिङ गरेका पनि ‘वेट एण्ड सी’ मा छन्।’
उनका अनुसार नयाँ व्यवस्थाका बारेमा बुकिङकर्ता मात्रै नभएर बैंकका कर्मचारी समेत अलमलमा रहेकोले समस्या आएको छ। सबैभन्दा बढी प्यासेन्जर भेहिकल बिक्री गर्ने सुजुकी मोटरकर्पका अनुसार नयाँ व्यवस्थासँगै गाडी बिक्रीमा थप गिरावट आएको छ।
‘गाडी बिक्रीमा गत वर्षको तुलनामा ३० प्रतिशत कमी आएको छ। त्यसमा पनि नयाँ व्यवस्थाले गाडी बिक्री थप प्रभावित हुने देखिन्छ,’ कम्पनीका एक कर्मचारीले भने।
कमर्सियल भेहिकल बिक्रीमा अग्रणी रहेको टाटा गाडीको नेपालको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले बेच्ने गाडीमा पनि केही समस्या देखिएको छ।
‘नयाँ व्यवस्थाले प्यासेन्जर भेहिकलमा समस्या पारेकै छ। कर्मसियल भेहिकलमा नयाँ व्यवस्थाले कुनै समस्या पार्दैन भन्ने हामीलाई लागेको थियो,’ कम्पनीका एक कर्मचारीले भने, ‘तर यसमा पनि अलमल देखिएको छ।’
उनका अनुसार राष्ट्र बैंकको निर्देशनपछि पछिल्लो दुई सातामा पचासभन्दा बढी फाइल बैंकमा अड्किएको छ।
नाडाले भेट्यो गभर्नर
गाडी बिक्रीमा गम्भीर असर परेपछि नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा)ले गभर्नर डा. चिरञ्जीवि नेपालसँग भेटेर निर्देशिका संशोधनका लागि आग्रह गरेको छ।
नाडाको नवनिर्वाचित पदाधिकारीले गभर्नर नेपाललाई भेटेर ऋण चुक्तादेखि आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत कायम गर्न निर्देशन संशोधनका लागि आग्रह गरेको छ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नयाँ व्यवस्थाले बैंक ऋण लिएर गाडी किन्न नसक्ने परिस्थिति भएको बताउँदै संशोधनका लागि आग्रह गरिएको बताए।
‘बैंक ऋण लिएर गाडी किन्नै नसक्ने परिस्थिति आएपछि हामीले गभर्नरज्यूलाई भेटेका थियौंं,’ उनले बिजमाण्डूसँग भने, ‘उहाँबाट सकारात्मक जवाफ आएको छ।’ तर नाडाले नै जारी गरेको विज्ञप्तीमा भने गभर्नर नेपालले व्यवसायी, बैंक तथा वित्तीय निकायकै राय सुझावमा निर्देशन ल्याएको बताएको उल्लेख छ।