![]()
जनकपुर — हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी ( संयुक्त )ले जनकपुरधामबाट लुम्बिनीसम्मको जानकी–बुद्ध रथ यात्रा सुरु गरेको छ । जानकी मन्दिरबाट सुरु भएको रथयात्रामा सो पार्टीका अध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीसँगै सुनिलबहादुर थापा, ध्रुवबहादुर प्रधान, विष्णु विक्रम लोहनी लगायतका पार्टीका शिर्ष नेता तथा सयौंको संख्यामा कार्यकर्ताहरु पनि सहभागी थिए ।
ठूला पार्टीहरुले मुलुकका बहुसंख्यक जनताको भावना विपरीत मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेको अध्यक्ष जबराले आरोप लगाए। ‘हिन्दु राष्ट्र हाम्रो पहिचान हो। राष्ट्रको पहिचान पुनः स्थापना गराउन रथ यात्रा सुरु गरेका हौं। मुलुक पुनः हिन्दु राष्ट्र घोषणा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’ उनले भने । अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले कात्तिक २८ गते जानकी मन्दिरबाट सुरु भएको यात्रा वाल्मिकी आश्रम हुँदै मंसिर ४ गते बुद्ध जन्मस्थल लुम्बिनी गएर टुंगिने जानकारी दिए। हिन्दु राष्ट्र पुनःस्थापनाका लागि आफ्नो पार्टी शान्तिपूर्ण रुपमा चरणबद्ध धार्मिक यात्राको अभियान थालेको उनको कथन थियो ।