जापानमा रोजगारी: ‘अर्को वर्ष अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजाने’

Loading

Peoples News नेपाली कामदार जापान लैजान दुई देशबीच भएको मझदारीअनुसार हाल नर्सिङ केअरगिभरका लागि परीक्षा लिइरहेको जापानले आगामी वर्ष मत्स्य व्यवसायसहित अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजान सुरु गर्ने नेपाली अधिकारीहरुले बताएका छन् । नर्सिङ केअरगिभरका लागि एक हजार जनालाई मात्रै परीक्षामा सहभागी बनाइएपछि देखिएको नेपाली पक्षको असन्तुष्टि आगामी वर्ष सम्बोधन गरिने वचन जापानी पक्षले दिएको उनीहरूको भनाइ छ । जापानसँग नर्सिङ केअरगिभरसहित १४ वटा क्षेत्रमा नेपाली कामदार लैजान सकिने समझदारीमा उल्लेख छ ।

जापान र नेपालबीच कामदार लैजाने विषयमा भएको समझदारीअनुरूप पहिलो वर्ष नर्सिङ केअरगिभरका लागि परीक्षा भइरहेको छ । भाषा तथा सीप परीक्षा गरी दुईथरी परीक्षामा उत्तीर्ण हुनेहरूले कामदारका रूपमा जापान जान पाउनेछन् । नेपाली कामदारलाई जापानमा रोजगारीको बाटो खुल्यो जापानमा नेपाली कामदार पठाउन गृहकार्य तीव्र जापान जाने नेपाली कामदारको भाषा र सीपसम्बन्धी परीक्षा कार्तिकमा असन्तुष्टि उक्त परीक्षामा एक हजार जनालाई मात्रै सहभागी बनाइएको भन्दै नेपाली पक्ष असन्तुष्ट देखिएको छ। सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार त्यस असन्तुष्टिलाई आगामी वर्ष सम्बोधन गरिने जानकारी जापानी पक्षले गराएको छ ।

ढकालले बीबीसी नेपालीलाई भने, “यस विषयलाई उठाउँदा उनीहरू [जापान] आगामी दिनमा अन्य क्षेत्र तथा बढी सङ्ख्यामा परीक्षा लिएर नेपालमा कामदारको लागि अवसर दिने कुरामा सकारात्मक रहेको पाइयो ।”
“आगामी वर्ष विभिन्न श्रेणीका लागि विभिन्न समयमा परीक्षा सञ्चालनको काम निरन्तर जारी राख्ने कुरामा जापानी पक्षले हामीलाई विश्वस्त बनाएका छन् ।” हाल नेपालमा के कस्ता सीप भएका कामदारहरू छन् भन्ने बारेमा जापानी पक्षले एक संस्थामार्फत् अध्ययन समेत गराइरहेको बताइएको छ । समझदारीमा कामदार लैजाने भनिएका १३ वटा क्षेत्रहरूमा कृषि, होटेल, उद्योग, सुरक्षा, सवारीसाधन मर्मतसम्भार, निर्माण आदि छन् ।

जापानमा यसरी हुन्छ विदेशी कामदारहरूको ‘शोषण’ जापानमा रोजगारीको लागि जान चाहनेले ‘बिचौलियासँग’ जोगिन सक्लान् अन्योल तर कतिलाई परीक्षामा सहभागी गराउने भन्ने स्पष्ट विवरण नआउँदा जनशक्ति उत्पादनका लागि अन्योल भइरहेको उपसचिव दीपक ढकाल बताउँछन्। “जापानमा आवश्यक पर्ने कामदारका हकमा हालसम्म कोटा उल्लेख नगरिँदा कस्तो प्रकृतिका, कति कामदार चाहिने हो भन्ने विषयमा यकिन हुन सकेको छैन ।” जापानले पाँच वर्षमा ११ देशबाट साढे तीन लाख विदेशी कामदार आफ्नो देशमा भित्र्याउने लक्ष्य राखेको छ । राष्ट्रिय अर्थतन्त्रमा विप्रेषणमा निकै निर्भर रहेको नेपालले कूटनीतिक पहल गरेर सक्दो धेरै नेपाली कामदार पठाउनतर्फ ध्यान दिनुपर्ने कतिपय जानकारहरूले बताउने गरेका छन्।

गत वर्ष जापान सरकारले नेपालबाट कामदार लिने निर्णय गरेको थियो । विदेशी कामदारहरूलाई आफ्नो देशमा भित्र्याउने नीति जापानको मन्त्रिपरिषद्ले पारित गरेपछि नेपाली कामदार लाने प्रक्रिया अघि बढेको हो । जापानले लामो समयदेखि विदेशबाट दक्ष श्रमिक लिने तयारी गरिरहेको थियो । विदेशी श्रमिक झिकाउने देशको सूचीमा नेपाललाई समावेश गर्न यसअघि परराष्ट्र मन्त्रालयमार्फत् चरणबद्ध छलफल भएको थियो ।
जापानले नेपालसँगै चीन, थाईल्यान्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेशिया, म्यान्मार, कम्बोडिया र मङ्गोलिया आदि देशबाट कामदार लैजाने तयारी गरिरहेको छ । BBC

Leave a Comment