डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

Loading

peoples News : हेटौडा – मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ। चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ। समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएको थियो। अध्यक्ष घिसिङको राजीनामा समयमा नआएकाले उपनिर्वाचनका लागि समस्या भएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताए।

निर्वाचन कार्यालयका प्रमुख पौडेललले राजीनामा जुनसुकै माध्यमबाट आए पनि त्यो हस्तलिखित हुनुपर्ने र हस्तलिखित नहुँदा मान्य नहुने प्रावधान रहेको बताए। उक्त वडामा उपनिर्वाचन हुन शुरूदेखिकै कुनै पनि प्रकिया नभएको प्रमुख पौडेलको भनाइ छ।

अध्यक्ष घिसिङ निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका हुन्। उडेको पाँच महिनापछि मात्र घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीनामा दिएको गाउँपालिका प्रमुख हिदम लामाले जानकारी दिए। शुरुमा अमेरिका गएको भन्दै तीन महिनाका लागि बिदा लिएका वडाध्यक्ष घिसिङ पाँच महिनासम्म पनि अमेरिकामै रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि राजीनामा दिन बाध्य भएर इमेलमा राजीनामा पठाएको उनको भनाइ छ । उनले भने, “घिसिङले इमेलमार्फत त राजीनामा पठाउनुभयो, तर हस्तलिखित राजीनामा पठाउन पनि आलटाल नै गर्नुभयो।”

भदौमा इमेलमार्फत राजीनामा दिएका घिसिङको असोजको आधाआधीमा पनि लिखित राजीनामा नआएको जनाइएको छ। असोजमा उम्मेदवार छनोटको तीव्र तयारी भइरहेको तर राजीनामा नआउँदा उपनिर्वाचन गराउन समस्या रहेको बताइएको छ। देशमा उपनिर्वाचन गराउने तयारी भइरहेको अवस्थामा समेत घिसिङले हस्तलिखित राजीनामा नपठाएका कारण उक्त वडामा उपनिर्वाचन नहुने भएको छ। nagrik

Leave a Comment