मर्कामा किसान

Loading

Peoplese News : चितवनका किसानहरूले लगाएको गरिमा जातको धान नपसाएपछि किसानहरूले धमाधम हरियो बोट काट्न थालेका छन् । भारतबाट आयातित वर्णशंकर गरिमा जातको धानको बिउ लगाउने किसानहरूको धानमा बाला नलागेको उनीहरूले बताएका छन् । गत बर्ष गरिमा जातको धान लगाएर धान भित्र्याएका किसानहरू अहिले भने जिल्ल परेका छन् ।

यतिखेर अन्य जातको धान लगाउने किसानहरू धान काट्न व्यस्त छन्। तर गरिमा जातका धान लगाएका किसानहरू भने नपसाएको धान काटिरहेका छन् । क्षतिपूर्ति माग कृषि प्राविधिकहरुले धानमा विस्तारै बाला लाग्ने बताएपछि केही समय प्रतीक्षा गरेको तर हालसम्म पनि त्यस्तो कुनै लक्षण नदेखेपछि बोट काटेको चितवन कठारका किसान कृष्ण लामाले बताएका छन् ।

“सरकारले सिफारिस गरेर सूचिकृत गरेको धानको बिउ लगाउँदा पनि धोका भयो। धानको बिउ राख्दा, धान लगाउँदा, धान गोडमेल गर्दा राखेको मल र औषधिसम्मको क्षतिपूर्ति अब सरकारले दिनुपर्छ,” किसान लामाले बताए । तर गत बर्ष यही गरिमा जातको धान लगाउँदा उत्पादन राम्रो भएर राम्रो आम्दानी भएको किसानहरूको अनुभव छ। तर यसपाली धान नफल्दा आफूहरूलाई अचम्म लागेको एकजना किसान समिक्षा गौतमले बताईन् ।

अनुगमन चितवनमा लगाएको धानमा बाला नलागेपछि राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमबाट असोज छ गते चार सदस्यीय विज्ञ टोलीले समस्याग्रस्त केही धानखेतको स्थलगत निरीक्षण गरेका थिए । त्यसपछि विज्ञहरूले उक्त धानमा २५ दिनपछि बाला लाग्ने बताएको तर २४ दिन बितिसक्दा पनि धानमा बाला लाग्ने छाँट नदेखिएपछि आफूहरूले धान काटेर मिल्काउन लागेको किसानहरूले बताएका छन् । उक्त धान गरिमा प्रजाति कै हो कि होईन भन्ने यकिन गर्न परीक्षणको लागि नमुना लगिएको भएपनि त्यसको प्रतिवेदन हालसम्म आइनसकेको किसानहरूले बताएका छन् ।

अधिकांश किसानहरू धानमा बाला नलागेपछि बाला नलागेको धान काटेर तरकारी खेतीको तयारीमा लागेका छन् । हालसम्म कति किसानले क्षति बेहोर्नु परेको छ भन्ने मुल्याङ्कन गर्ने काम नभएको कृषि ज्ञान केन्द्र चितवनका बाली अधिकृत माधव पौडेलले बताएका छन् । क्षतिपूर्तिका लागि मूल्याङ्कन समिति गठन हुनुपर्ने उनले बताए । किसानहरूले धानको कमसल बिउ उपलब्ध गराउनेलाई पन‌ि कारबाही हुनुपर्ने भन्दै आफुहरूले गरेको खर्चको क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेका छन् ।

व्यवसायीहरूले धानको बिउ बिक्री गरेको तथ्यांकलाई आधार मानेर हेर्दा चितवनमा करीब ९ सय ५० बिगाहमा उक्त गरिमा जातको धान लगाइएको हुनसक्ने अनुमान कृषि ज्ञान केन्द्र चितवनले गरेको छ । BBC

Leave a Comment